आगामी एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ  : प्रधानमन्त्री

आगामी एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ  : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए ।

'पचास प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छु । बढी नम्बर दिएर नभई विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’

उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट पारे । उनले आफूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए । 

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित वद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे । उनले भने, 'अब तपाईंहरू संसारका जुनसुकै कुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ । तपाईंहरूका लागि संसार खुल्ला छ । तपाईंहरूलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रूपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस् ।'