काठमाडौं । नेपालका ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । १९६ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ ।
१८ स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् पुर्याउन सकेको छैन । राष्ट्रिय प्रसारण ग्रीड नपुगेता पनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेका छन् ।
प्राधिकरणले मुलुकभरिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ, २०८१ अनुसार, कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्रमा सबै नेपालीका घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने सरकारको घोषणालाई कार्यान्वयन गर्न काम भइरहेको बताए ।
“भौगोलिक रूपमा कठिन र विकट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका सबैको घरधुरीमा एक वर्षभित्रमा विद्युत् पुर्याउने गरी काम भइरहेको छ । यसका लागि बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनौट भई काम सुरु गरिसकेका छौँ,” उनले भने ।
मधेस प्रदेशमा शतप्रतिशत विद्युतीकरण भएको छ । कोसीमा ९९.३०, वाग्मतीमा ९९.९७, गण्डकीमा ९९.४०, लुम्बिनी प्रदेशमा ९८.४९ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् ७४.३८ प्रतिशत मात्र विद्युतीकरण छ । सुदूरपश्चिम प्रदेशमा ८६.५८ प्रतिशत विद्युतीकरण गरिएको प्राधिकरणले जनाएको छ ।
७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रीड पुग्न सकेको छैन । हुम्लामा लघुजलविद्युत्, सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ ।