महावीर पुनले किताब बेचेर  कमाए १० करोड

महावीर पुनले किताब बेचेर  कमाए १० करोड

मकवानपुर । वैज्ञानिक डा . महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् ।

चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए । उनले स्थानीय युवाहरूलाई साथमा लिएर हेटौंडा, मकवानपुरगढीमा कार्यतालिका बनाएर किताब बिक्री गरिरहेका छन् । किताब बेच्दै नागरिकको प्रश्नमा आफ्नो जीवनका भोगाइ, लक्ष्य र राज्यले गरेको व्यवहारका सम्बन्धमा उनी खुल्दै आएका छन् ।

डा. पुनले आइतबार आफ्नो जीवनीको किताब बेच्दै हिँडेको २०० दिन पुगेको र यो अवधिमा करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए । यसैगरी १० हजार ८ सय ४० किलोमिटर हिँडेको उनी सुनाउँछन् ।

सोमबार नारायणी यातायात ब्यवसायी संघमा पुगेका डा। पुनले पछिल्लो एक वर्षको अवधिमा करिब सवा लाख प्रति पुस्तक बिक्री भएको जानकारी दिए । पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ । सर्वसाधारणले उत्साहकासाथ पुस्तक खरिद गरी डा. पुनलाई सहयोग गरिरहेका छन् । शनिबार हेटौंडा आइपुगेका पुनले त्यसै दिन साँझ बुद्ध चोकमा साढे २ घण्टामा ४ सय वटा पुस्तक बिक्री गरेको सुनाए ।

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि राज्यले एक करोड रुपैयाँ पनि नपत्याएपछि आफ्नै जीवनीलाई पुस्तकमा उतारेर बिक्री गर्दै हिँडेका पुन पछिल्लो साता हेटौंडा र आसपासमा विभिन्न टोलमा घुमिरहेका हुन् ।

सोमबार नारायणी यातायात व्यवसायी संघमा पुनले आफ्नो पुस्तक बिक्री गर्दै भने, ‘वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्नुपूर्व तयारी गर्ने क्रममा करिब एक करोड रुपैयाँ खर्च भएको रकम सरकारले भुक्तानी दिने कुरा थियो तर, सरकारले दिएन ।’

‘यो पुस्तक बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ’ उनले भने । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले गत वर्ष मात्रै आफ्नो जीवनकथामा आधारित पुस्तक सार्वजनिक गरेका थिए । ‘वीरगञ्जको कृषिऔजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन होला’ डा.पुन भन्छन् । यो पुस्तकको ईबुक संस्करण पनि उपलब्ध गराउने तयारी गरिरहेको बताए । ३०८ पेज रहेको पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।