ओजेशको बाल साहित्य 'लन्डन लाखे' विमोचन

ओजेशको बाल साहित्य 'लन्डन लाखे' विमोचन

काठमाडौँ । ओजेश सिंहद्वारा लिखित बाल साहित्य 'लन्डन लाखे' विमोचन गरिएको छ । आज काठमाडौँको वसन्तपुरमा आयोजित एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, साहित्यकार मल्ल के सुन्दर, साहित्यकार राजभाइ जकमी लगायतको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि उपमेयर डङ्गोलले पुस्तक नेवा संस्कृतिको रक्षाका लागि कोशेढुंगा भएको उल्लेख गरिन् । नेवार समुदायका व्याक्तिहरु कुनै पनि देश पुग्दा आफू मात्र नभएर आफ्नो कला, साहित्य र संस्कृति पनि सो राष्ट्रमा पुर्‍याउने गरेको भन्दै खुसी व्यक्त गरिन् । 

त्यसैगरी विशिष्ट अतिथि लेखक तथा अभियन्ता मल्ल के सुन्दरले लाखेको बारेमा विभिन्न भ्रम छर्ने काम भएको भन्दै यो पुस्तकले उक्त  भ्रम चिर्ने काम गरेको बताए । पुस्तकले विदेशमा रहेर नेपालको कला संस्कृति प्रवर्द्धन गर्दाको अनुभव पनि समेटेको उनले उल्लेख गरे । 

कार्यक्रमका अध्यक्ष स्नेह सायमीले पुस्तकले बालबालिकालाई लाखेको बारेमा जानकारी दिन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । पुस्तकलाई रातो घर फाउन्डेशनले बजारमा ल्याएको हो । 

लेखक ओजेश सिंह बेलायतमा बस्दै आएका छन् ।  बेलायतमा नेवा परम्परालाई प्रवर्द्धन गर्ने, बिस्का जात्रा र इन्द्रजात्रा जस्ता उत्सवहरू आयोजना गरेर उनले विदेशी भूमिमा नेवा परम्पराको प्रवर्द्धन गर्दै आएका छन् ।