नेपाल विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भयो : कुलमान घिसिङ

नेपाल विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले विद्युत् आपूर्तिभन्दा निर्यात बढी गरेको दाबी गरेका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको जानकारी दिए ।“जसले गर्दा आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ,” घिसिङले भने ।

यो नेपालको जलविद्युत् विकासका लागि कोसेढुंगा र महत्त्वपूर्ण प्रस्थानविन्दु भएको उनले बताए । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको उनले जनाए ।

“विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिकरूपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट सुरु गरेको थियो ।  निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ,” कार्यकारी निर्देशक घिसिङले भने ।

वर्षायाममा दैनिक ७०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको जानकारी उनले दिए । सुख्खायाममा नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो  भएको उनले सुनाए । यसकारण गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको तथ्यांक उनले प्रस्तुत गरे ।

“नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बंगलादेश पनि निर्यात हुँदै छ । यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ । बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिए पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौँ,” उनले भने ।