काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनास्थलको निरीक्षण गरेका छन् ।
बिहीबार बिहान उनी नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर पुगेका हुन् । उक्त स्थानमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटना भएको थियो । स्थलगत निरीक्षण क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारी पनि उनका साथमा थिए ।
बुधबार नै उनी दुर्घटनास्थलमा जाने तयारीमा थिए । तर, त्यही विषयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक तय गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत हवाई सुरक्षालगायत विषयमा उनले छलफल गर्नुपर्ने भएकाले बुधबार स्थलगत निरीक्षण सम्भव नभएको मन्त्रालयले जनाएको छ ।