छोटु : एक सर्वमान्य सुन्दर दृष्टान्त

छोटु : एक सर्वमान्य सुन्दर दृष्टान्त

सद्य प्रकाशित सञ्जीव पौडेलको छोटु (२०८१) संस्मरणात्मक कृति हो । यो उनकै जीवन घटनामा आधारित भएकाले आत्मवृत्त भने पनि हुन्छ । लेखकको जिउडाल हेर्दा हट्टाकट्टा अग्राखझैँ कुनै फिल्मी जगत्का अभिनेताझैँ लाग्ने व्यक्तिले कस्तो नाम राखे हुनन् छोटु । उनको व्यक्तित्वसँग कहीँ कुनै तालमेल देखिँदैन । आखिर विपन्न वस्तीका भुइँमान्छे भएर अनेक हण्डर–ठक्कर खाँदै उठेका उनकै बाल्यकालको विदेशमा बोलाउँदाको नाम रहेछ छोटु ! विगतको आफ्नै यथार्थ इतिहास रहेछ ।

उनी टुहुरामात्र रहेनछन्, जिउने आधारको खोजी गर्नुपर्ने वाध्यता र विवशतामा अर्काको घरको कामदार भई जुठोभाँडो गर्नुपर्ने, पोछा लगाउनुपर्ने अवस्थाबाट गुज्रिरहेका रहेछन् । आफ्नै भरोसाका दाजुभाइहरू पनि जिउनकै निम्ति पराइका घरमा बाँधा बस्नुपर्ने अवस्था रहेछ । खोलेसम्म खान नपुग्ने परिवारको टीठलाग्दो हालत उनकै मन, मस्तिष्कले बेहोरेको यथार्थ रहेछ । एकपछि अर्का अनेक मार्मिक घटनाहरू बेहोरेका उनका विगतका कथाहरू सुन्दा मनै द्रवित भएर आउँछ ।

जीवनका अनेक अँध्याराहरूमा उनले ज्ञानको उज्यालो खोजिरहेका थिए । त्यही उज्यालोलाई पछ्याउँदै जाँदा अहिले उनी बैङ्कको नीतिनिर्माताको तहसम्म पुगिसकेका छन् । निरन्तर श्रम, सीप र जाँगर चलाउँदै गएपछि नियतिले पनि साथ दिन करलाग्दो रहेछ । उनका विगत र आगतको तुलना गरी हेर्दा जीवनमा ठूलै चमत्कार भएको मान्न सकिन्छ ।

बाल्यकाल खाने, खेल्ने र रमाउने वय हो । त्यो विपन्न अवस्थामा पनि पढ्नै पर्छ भन्ने भावना उनमा प्राकृतिक रूपबाटै आएको देखिन्छ । उनको पढाइप्रति त्यति चासो र चिन्ता आम बालकमा नदेखिन सक्छ । ‘पढेपछि वा जानेपछि नै जीवन बन्छ’ भन्ने बोध उनले संस्कारगत रूपमै पाएको पनि रहेछ । अहिले त छ दशक वसन्त पार गरिसकेका उनी अझै आकर्षक देखिन्छन् । वैँसमा झन् कति झिल्के हुँदा हुन्, त्यसमाथि पढेलेखेको, जोशिलो, फुर्तिलो र भर्भराउँदो व्यक्ति । विवाहको सन्दर्भ चल्दा त्यस्तो व्यक्तिलाई आफ्नै छोरीले मन पराउँदा पनि अतिशय आर्थिक विपन्नताका कारण छोरीका आमाले छोरी दिन गाह्रो मानेका र छोरीका बाबुले पनि आफ्नै घरमा माग्न आएको देवताजस्तो कृष्ण नदेखेकोमा तात्कालीन चेतनामाथि नै उदेक लागेर आउँछ ।

यदि वरको विवाहयोग्य उमेर छ । ऊ विद्यावान्, रूपवान् र स्वस्थ छ तर ऊसँग धन केही कम छ भने र कन्या पनि विवाहयोग्य छे भने वरलाई बोलाएर पनि कन्या दिनुपर्छ भन्ने त शुक्रनीतिमै उल्लेख छ । त्यसको पनि उनीहरूले विचार पु¥यान सकेनछन् । आफ्नै प्रेयसीलाई पनि पारिवारिक प्रसन्नताबाट भित्र्याउन नसकिने परिस्थितिबाट उनी गुज्रिरहेका रहेछन् । प्रेममा विश्वास जागिसकेको थियो र प्रगाढ आत्मीयता बनिसकेको थियो । आफ्नै अभिभावक खुन्सिएको अवस्थामा पनि प्रेमिकाले आँट गरिन् । यता प्रेमी मितेनी दिदीको सहायताले चाँजोपाँजो मिलाएर विवाह सूत्रमा जुट्न सफल भए । भविष्यप्रति आशावादी हुँदै दुवै मिलेर जीवन सङ्घर्षमा बढ्दै गए । आज के खाऊँ, के लाऊँको कुनै समस्या छैन । शहरको मुटुमा नै अवस्थित आवासीय हवेली छ, यातायातको आधुनिक वाहन पनि आँगनमै विराजमान छ ।

किताबको शीर्षक भने छोटु तर यसको आकार भने निकै मोटु छ । ‘छोटा’ हिन्दी शब्दबाट बनेको शब्द हो – छोटु । कम उमेरको सानो कदकाँठी भएको व्यक्तिलाई ‘छोटा’ भनिन्छ, यसैलाई मायालु सम्बोधनका रूपमा ‘छोटु’ भनिन्छ । छोटाले तुच्छ वा क्षुद्र भन्ने पनि अर्थ दिन्छ तर छोटु स्नेहपूर्वक संवोधन गरिने शब्द हो । आफ्नो बाल्यकालीन अवस्था वा धरातलीय यथार्थलाई सम्झन र सन्देश दिनका निम्ति पनि ‘छोटु’ नामकरण गरेको हुनुपर्छ । कोही भरिया भएर पनि शिखर आरोहण गरी विश्वप्रसिद्ध भएका छन्, तेञ्जिङ शेर्पा तिनै त हुन् । कोही भिक्षाटन गर्ने चेलो हुँदाहुँदै आफ्नै पुरुषार्थले ठूलो कम्पनीका मालिक भएका छन् । आचार्य बालकृष्ण र स्वामी रामदेव पनि त तिनै हुन् ।

त्यस्तै पढाइका क्रममा विदेशी भूमिमा पुगी व्यापार–व्यवसाय चलाएर लक्ष्मीलाई प्रसन्न तुल्याउन सफल हुन पुगेका जीवा लामिछानेजस्ता सपुत पनि छन्, जसमाथि सरस्वतीको पनि असीम कृपा छ । साहित्यकारहरूका निम्ति लाखौँको पुरस्कार स्थापना गरेका छन्, तिनै सुन्दर दृष्टान्तमध्ये एक देखिन्छन् – सञ्जीव पौडेल । पुस्तकको विषयक्रम बुझ्दा र वर्णनविस्तारको आयतन हेर्दा पनि यो दुई–तीनवटा कृति हुने कृतिलाई एउटै कृतिमा समेटिएको छ । विषयको व्यापक वर्णन विस्तार भए पनि पट्यारलाग्दो वा झिँजोलाग्दो महसुस हुँदैन । कौतुकमय घटनाको शृंखला र वर्णनको रम्यताले कृति निकै आस्वाद्य हुन पुगेको छ । कृतिभित्र व्यावहारिक जीवनदर्शनका सूक्तिहरू पनि प्रशस्त छन् । अधिक विस्तार भयले तिनको उल्लेख गर्नतिर लागिएन ।

हिरासतको बास, बिएस्सी पढ्ने धोको, सरुवाको पीडा, माओवादी विद्रोहको ताप, मित्रमणि हत्याकाण्ड, प्रेम र विवाहजस्ता अंशहरू विशेष छाप पार्ने प्रकृतिका छन् । संस्मरण भनेर यसमा निजी जीवनका गथासा नभएर सार्वजनीन विषयका सटीक विश्लेषण छन् । त्यसैले पनि यो कृति विशेष महत्वको बन्न गएको छ । सामाजिक जीवनमा उनीमाथि अन्याय भएन कि, स्वदेशी र विदेशी तालिम लिन पाउनुबाट वञ्चित गराइएन कि, सरुवाका निम्ति अनसन बस्नुपर्ने अवस्थासम्म पुयाइएन कि । यसरी जहाँ जे जति कष्ट, पीडा बेहोर्नु परे पनि उनले हरेश खाएनन् । कतै सहनसम्म सहे, कतै विद्रोह पनि गरे, कतै सत्यका निम्ति शिर ठाडो पारेर बोले, स्वार्थका निम्ति अलिकति पनि झुकेनन्, स्वाभिमानलाई जीवन्त राखे । निष्ठावान् कर्मचारी बनेर रहे । आफूलाई निहुरिनुमा पारेनन् र संस्थालाई निहुराउने काम पनि गरेनन् । जनसेवक मात्रै नरहेर राष्ट्रसेवकसमेत बने ।

कृतिभित्रका समग्र घटना सिलसिलाबद्ध रूपमा वर्णित छन् । जीवनको यथार्थ कथा वा उपन्यास पढेझैँ कौतुकमय गतिले पाठकीय मन आकर्षित हुँदै जान्छ । कथ्य प्रवाहशील छ, भाषा पनि सरल र सम्प्रेष्य छ । वर्णनको रम्यताले तानिरहन्छ । लेखकले जता डो¥याउँछन्, पाठकलाई त्यतै जाने मन हुन्छ । जति पढ्यो पढिरहूँ जीवनको त्यो मार्मिक अवस्था बुझिरहूँझैँ लाग्छ । आफ्नो जीवन पनि त्यस्तै दारुण घटनाहरूबाट गुज्रिएकाले उनीप्रति सद्भाव र सहानुभूति पनि उत्तिकै जाग्दछ । यस कृतिमा भुक्तभोगी नायक उनै हुन्, उनैका केन्द्रमा अनेक मर्मस्पर्शी घटना वर्णित छन् । उनी पढ्नमा त तेज हुँदै हुन् ।

हुने विरुवाको चिल्लो पातझैँ उनका लक्षणहरूले उनलाई एक दिन उनकै शिखरमा पु¥याउँछ भन्ने देखिन्छ । उनको राजनीतितिर समेत रुचि छ । उनी विद्यार्थी कालदेखि नै अनेरास्ववियू छैटौँका विद्यार्थी नेता बनेका छन् । मोटो हो कि पातालो मसालका पनि उनी नेता बनेका छन् । राजनीति व्यक्तिअनुसार होइन, विधिअनुसार चल्नुपर्छ भन्ने उनको विचारसँग आज सहमत नहुने को होला र ! अहिले राजनीतिमा देखापरेको नीति एकातिर व्यवहार अर्कातिर हुने प्रवृत्तिबाट उनी मात्र होइन हरेक सचेत नेपाली क्षुब्ध छन् । राजनीतिमा लागेर पनि उनी आहार–विहारमा सात्विक छन् । कहीँ कुनै तरल–ठोसमा फस्ने उनको बानी छैन । तरल पदार्थले मानिसलाई चित्र–विचित्र गराएको उनी आफैले देखेका छन् । त्यस्ता कुलतबाट उनले आफूलाई बचाएका छन् । उनी आफूलाई सच्चा कम्युनिष्टको रूपमा उभ्याउँछन् । कुनै आडम्बर वा पाखण्डले उनको मन–मस्तिष्कमा डेरा जमाउन पुगेको देखिन्न । सत्य र निष्ठामै लागेर जीवन सार्थक हुन्छ भन्ने उनको विचार र व्यवहारले हरकोही प्रभावित नभई रहन सक्दैन ।

 

कुनै विज्ञापनविना नै एकाएक साहित्यकार बनेका उनी जीवनमुखी साहित्यकार हुन् । उनी कुनै साहित्यिक कार्यक्रममा भाग नलिएर पहिल्यै कुनै पत्रपत्रिकामा आफ्नो रचना नछापेर जीवनको बेसठ्ठी वसन्त पार गरेपछि मात्र उनी छोटुको मर्मस्पर्शी कृति लिएर देखापरेका छन् । भित्रभित्रै संस्मरणको डायरी लेखेर पूर्वाभ्यास त गरेकै हुँदा हुन्, पछिपछि परिष्कार, परिमार्जन र सम्पादन गर्दै कृति प्रकाशनको तहसम्म पुगेका हुन सक्छन् । नत्र एकाएक स्मृतिशक्तिले यो उमेरमा आएर यति सुन्दर कृति दिनु सम्भवजस्तो लाग्दैन । साहित्यकारको वृहद्काय कृति प्रकाशन गरेर पाठकजगत्लाई नै अचम्भित तुल्याए । साहित्यकार नभई साहित्यकार भएको यो नयाँ दृष्टान्त बन्यो । किन धाउनुप¥यो गोष्ठी, किन छापिनुप¥यो पत्रिकामा आफ्ना रचना ? आफूले जीवनमा भोगेको सत्यतथ्य घटनाका अनुभव र अनुभूतिलाई सरल र सरस ढङ्गले वर्णन गर्न सकियो भने सबैका निम्ति रुचिकर, प्रेरणाप्रद र सन्देशमूलक कृति बन्न सक्दो रहेछ ।

छोटु पढ्दै जाँदा यी सबै तथ्यहरू बोध हुन्छन् । कुनै कथा, कविता, गीत, गजल, मुक्तक नलेखी संस्मरणमै केन्द्रित रहेर आफ्नै जीवनका कथा लेखेर पनि पाठकमा गहिरो प्रभाव पार्न सक्ने पाठकका प्रिय व्यक्ति बने । आफ्नै कृति आफ्ना लागि उत्सव बन्यो । एक छोरा र एक छोरीका पिता उनी एक सुन्दर कृतिका पनि प्रणेता बने । आफ्नै रचनाले आपूmलाई धन्य बनाउन पुगे । यो उनकै निम्ति गौरवको विषय नरही साहित्यकै क्षेत्रमा सुन्दर दृष्टान्त बन्यो । दशकौँ कथा, कविता लेखी गुमनामको जिन्दगी बिताइरहेका सामु जीवनको उत्तराद्र्धमा आएर उनी अक्षरपूजक बने ।

एकै प्रकृतिको रचनाले साहित्यिक क्षेत्रमै उनको सुन्दर पहिचान बन्यो । झमक घिमिरेका रचना पढेपछि कसैले आत्मविसर्जनबारे सौच्दैन, आवेशमा पनि आउँदैन । निराशाको खाडलमा हाम्फाल्दैन । त्यस्तै सञ्जीवको छोटु पढेपछि सधैँ छोटु छोटु रहँदैन । छोटुलाई पनि विचार र अनुभूतिले सिञ्चेर निरन्तरको साधना, संयम र धैर्यले बडा बनाउँछ भन्ने स्वयम् सुन्दर दृष्टान्त बन्नु परिवारका निम्ति मात्र होइन, समाजकै निम्ति खुसी र गौरवको विषय हो । यसै सन्दर्भमा :
हावा नियतिको एकैतर्फ कहाँ बहन्छ र !
कर्म गर्दै गए मान्छे कहाँ छोटु रहन्छ र !
कर्तव्यनिष्ठभै लागे मिल्छ सौभाग्यको सुख
देखेको जगको स्वप्न भयो साकार सम्मुख !

संस्मरणमा स्मृतिमयता नै प्रमुख तत्व हो । उहिल्यैदेखिका कुरा अर्थात् तीनचार दशक अघिदेखिका कुरा यति जीवन्त रूपमा चित्रण गर्नु सामान्य मनमस्तिष्कको वशको कुरा होइन, पक्कै पनि लेखकले आफ्ना स्मृतिहरूलाई डायरीमा साँच्दै लगेको हुनुपर्छ । सरस्वती दाहिना भएरै यो सबै सम्भव भएको देखिन्छ ।

परिस्थितिजन्य नाम हो – छोटु । स्वयम् नायकले नै स्वीकारेको तात्कालिक यथार्थ हो । उदात्त विचार लिएर निरन्तर सत्कर्ममा लागेपछि सधैँ एकै स्थितिमा राख्न विधातालाई पनि मञ्जुर छैन । छोटु पनि एक दिन बडा बन्छ, वित्तीय संस्थाको नीतिनिर्माता भएर खडा बन्छ । आफ्नै जीवनको दृष्टान्त अघि सारेर समाजका लागि नयाँ सन्देश दिन्छ र स्वयम् एक सुन्दर दृष्टान्त बन्छ । 
पीडाको नाम हो ‘छोटु’ मेट्छ घाउ सुकामले
सङ्घर्ष र गरीबीमा उठ्छ आफ्नै इमानले ।

गरिबी र अभावलाई पाठशाला बनाएर इमान्दारीपूर्वक निरन्तर सङ्घर्ष गरिरह्यो भने एक दिन अवश्य विजयको मुकाममा पुग्न सकिन्छ भन्ने सार नै यस कृतिको मुख्य सन्देश हो । यसरी यो सबैका निम्ति पठनीय, मननीय र अनुकरणीय छ । यही अर्थले पनि कृतिको शीर्षक सार्थक छ ।