काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीको दुई महिनामै सरूवा गरिएको विषयलाई बचाउ गरेका छन्।
सिंहदरबारमा बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिले 'सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता' विषयमा राखेको छलफलमा बोल्दै गृहमन्त्री लेखकले डिआइजी केसी योग्य भएकै कारणले प्रहरीलाई तालिम दिने ठाउँमा पठाइएको बताए।
उनले प्रहरी कर्मचारी सरूवा गर्ने निरन्तर चलिरहने प्रक्रिया रहेको पनि बताए।‘कर्मचारीको सरुवा र बढुवा हुन्छ, सामान्यतया अवधि तोकेको हुन्छ। तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,’ उनले भने, ‘जुन पदको सरूवाको कुरो छ- उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नु भएको छ। किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि! प्रहरी राम्रो बनाउनु पर्यो। अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो?’
विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरूले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए। ‘फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि! लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानूनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,’ उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छुट्नु पनि कानून बमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो।’
नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका डिआइजी मनोज केसीलाई गत बुधबार गृहमन्त्री लेखकले प्रहरी प्रशिक्षण तालिम केन्द्र महाराजगन्जमा सरूवा गरेका थिए। डिआइजी केसी विशेष ब्युरोमा गएको दुई महिना पनि भएको थिएन। गत जेठ ४ एसएसपीबाट डिआइजीमा बढुवा भएपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयबाट विशेष ब्युरोको जिम्मेवारी दिइएको थियो।