उद्योगमा जस्तै सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ: चिरीबाबु महर्जन

उद्योगमा जस्तै सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ: चिरीबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उनले यस्तो आशंका गरेका हुन् । उनले स्थानीय सरकारको गठन पश्चात शहरी व्यवस्थापनका सन्दर्भमा उपत्यकाभित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीय स्थल लगायतका सार्वजनिक स्थलहरुमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सीसीटीभी व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए ।

काठमाडौं उपत्यका भित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरूमा जडान भएका सडक बत्तीहरुको बील समेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै केन्द्रिय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरूमा जडित सडक बत्तीहरूको महसुलको विषय केन्द्रीय सरकार र प्रदेश सरकारकै दायित्वभित्र पर्ने बताए ।

उनले आ.व.२०८०/८१ सम्मको बील भुक्तानी नेपाल सरकारले गर्ने पूर्वअर्थ मन्त्री वर्षमान पुनवाट प्रतिवद्धता व्यक्त भएको अवगत गराउँदै आ.व.२०८१/८२ देखिको बिल भुक्तानी स्मार्ट सडक बत्ती जडानमा अवलम्बन गरिएको मोडल (स्थानीय तहबाट ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणबाट ४० प्रतिशत) अनुसार स्थानीय पालिका मातहतका सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महशुल भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तर, प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुमा झैँ विद्युत काटिदिनसक्ने भन्दै त्यसो नगर्न चेतावनी दिए । उनले विद्युत काटिएको खण्डमा आन्दोलन शुरु हुने बताए ।

मेयर महर्जनले स्थानीय सरकारले गरेका कामले नै सरकारलाई सुरक्षित बनाइरहेको बताए ।