सौर्य  एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाइलट केएमसीबाट डिस्चार्ज हुँदै

सौर्य  एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाइलट केएमसीबाट डिस्चार्ज हुँदै

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख बनेको छ । आजै उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका प्रमुख डा. सुनील शर्माले बताए ।

आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारीसमेत गरेको थियो । ठूलो संख्यामा सञ्चारकर्मी अस्पतालमा उपस्थित भएका थिए । तर, नागरिक उड्डयन प्राधिकरणले अहिले उनलाई नबोल्न निर्देशन दिएको स्रोतले बतायो । दुर्घटनाको विषयमा छानबिन समिति बनेकाले उक्त समितिको प्रतिवेदन नआउँदासम्म बोल्न रोक लगाइएको हो । अस्पतालकी निर्देशक डा. मीना थापाले अवस्था सामान्य हुँदै गएको बताइन् ।

उनले भनिन्, ‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ ।’तत्कालै काममा फर्किन सक्ने अवस्था भने नरहेको उनले जानकारी गराइन् । दुर्घटनाका विषयमा क्याप्टेनसँग धेरै कुरा नगरेको उनको भनाइ छ ।

अस्पतालका प्रमुख शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको भन्दै सन्तोष व्यक्त गजरे ।उनले भने, ‘यो एयरपोर्टबाट नजिकै रहेको अस्पताल हो । कुनै भवितव्य पर्यो भने यहीँ ल्याइन्छ । यो अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भयौं ।’