काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका क्याप्टेन मनीषरत्न शाक्यको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार आईसीयूबाट क्याबिनमा सारिएका शाक्यको स्वास्थ्य अवस्था स्थिर छ ।
“टाउकोमा लागेको चोट ठिक हुँदै छ, आँखामुनिको चोट पनि सामान्य हुँदै छ । अब शल्यक्रिया गर्न मात्रै बाँकी छ,” केएमसीका व्यवस्थापक नारायणप्रसाद दाहालले भने ।
मेरुदण्डको हड्डीमा पनि चोट लागेको देखिएको छ । तर, स्वास्थ्यका सूचकहरूका कारण तत्काल शल्यक्रिया गर्ने अवस्था नरहेको दाहालले बताए । उनलाई अझै केहीदिन अस्पताल राखिने अस्पतालले जनाएको छ ।
३७ वर्षीय शाक्य स्वास्थ्यकर्मी, परिवार र आफन्तको हेरचाह्रमा छन् । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।