को हुन् कमला ह्यारिस ?

को हुन् कमला ह्यारिस ?

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको नोभेम्बरमा आयोजना हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसमा कमजोर प्रदर्शन गरेका बाइडेनलाई आगामी निर्वाचनमा उम्मेदवारी नदिन आफ्नै डेमोक्र्याटिक पार्टी भित्रबाट चर्को दबाब थियो ।

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूले राष्ट्रपतीय निर्वाचन अभियानबाट पछि हट्ने निर्णय गरेको जानकारी गराएका हुन् । यससँगै उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा पनि गरेका छन् । ह्यारिसलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउन आफ्नो पूर्ण समर्थन रहेको पनि बाइडेनले घोषणा गरेका छन् ।

को हुन् कमला ?

सन् २०२१ देखि अमेरिकाको उपराष्ट्रपति पदमा रहेकी कमलादेवी ह्यारिसको जन्म सन् १९६४ अक्टोबर २० मा क्यालिर्फोनिया राज्यको ओकल्याण्डमा भएको थियो । उनका बाबु जमैकाली मूलका डोनाल्ड ह्यारिस थिए भने आमा श्यामाला गोपालन् भारतीय मूलकी थिइन् ।

उनका आमाबाबुको भेट क्यालिफोर्नियामा रहेको युनिभर्सिटी अफ क्यालिफोर्निया बेर्केलीमा भएको थियो । पोलिटिकोका अनुसार उनकी आमा श्यामालाले छोरीको नाम कमला राखिदिएकी थिइन् । तर, उनका आमाबाबुको सम्बन्ध भने धेरै टिक्न सकेन ।

उनी ७ वर्षको हुँदा नै आमाबाबुको सम्बन्धविच्छेद भयो । आमाबाबुको सम्बन्धविच्छेदपछि कमला र उनकी बहिनी माया आमासँगै हुर्केका थिए ।

त्यसबेला उनीहरु बेर्केलीमै दुईतले घरको माथिल्लो तल्लामा बस्ने गर्थे । कमलाले बेर्केलीमै रहेको प्राथमिक विद्यालयमा पढेकी थिइन् । सानोमा आफू हिन्दू मन्दिर र इसाई चर्च दुवै ठाउँमा जाने गरेको उनले आफ्नो आत्मकथामा उल्लेख गरेकी छिन् ।

सानो हुँदा आफू भारत पनि जाने गरेकी थिइन् । आमापट्टीबाट उनका हजुरबुवा पीभी गोपालन् भारतमा पदमा सरकारी जागिरे थिए । आत्मकथामा उनले सानोमा आफ्नो भारत भ्रमणबाट आफू आफ्ना हजुरबुबा र भारतीय सँस्कृतिबाट अत्यन्त प्रभावित भएको बताएकी छिन् ।

आमाले क्यानाडाको मोन्ट्रियलमा जागिर पाएपछि कमलाले त्यहीँ माध्यमिक तहसम्म अध्ययन गरेकी थिइन् । उनले उच्च शिक्षा भने वाशिंटन डीसीमा रहेको होवार्ड विश्वविद्यालयमा लिएकी थिइन् । त्यहाँ उनले राजनीतिशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् ।

पछि उनले सान फ्रान्सिस्कोमा रहेको क्यालिफोर्निया विश्वविद्यालयको कानुन कलेजबाट कानुनको डिग्री प्राप्त गरेकी थिइन् । त्यहाँ उनी बिहिनी माया र उनकी छोरीसँग बस्थिन् । सन् १९९० मा उनले क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अलामिडा काउन्टीको अभियोजन कार्यालयमा काम गर्न थालिन् ।

त्यसको केही समयपछि उनी सन फ्रान्सिस्कोको जिल्ला अधिवक्ता कार्यालयमा काम शुरु गरिन् । त्यहाँ काम गर्दा उनले किशोरकिशोरीको देहव्यापारविरुद्ध कारवाही चलाएकी थिइन् ।

सन् २००३ मा उनले सन फ्रान्सिस्कोको जिल्ला अधिवक्ताको चुनाव लडिन् । त्यो उनको राजनीतिक करिअरकै पहिलो चुनाव थियो । त्यो चुनाव उनले ५६.५ प्रतिशत मत ल्याएर जितिन् । चुनाव जित्दै उनी क्यालिफोर्निया राज्यमै जिल्ला अधिवक्ता बन्ने काला जातीको पहिलो महिला बनिन् ।

सन् २००४ मा भविष्यका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनको मित्रता शरु भयो । त्यसबेला ओबामा इलेनाई राज्यबाट सिनेटरको चुनावमा उठेका थिए । पछि सन् २०१० मा उनले क्यालिफोर्निया राज्यको अधिवक्ताको चुनाव लडिन् । त्यस चुनावमा उनले रिपब्लिकन पार्टीका स्टिभ क्लुलीलाई ०.८ प्रतिशतको झिनो मतान्तरले पराजित गरिन् ।

बाराक ओबामा राष्ट्रपति भएको समयमा उनलाई अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीशको जिम्मेवारी दिइने चर्चा पनि चलेको थियो । तर, यो पदका लागि अनिच्छुक भएको भन्दै उनले यो प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

सन् २०१६ मा उनले सिनेटको चुनाव जितिन् । त्यसबेला उनले आफ्नै पार्टीकी लोरेटा सान्चेजलाई पराजित गरेकी थिइन् । सिनेटमा उनी न्याय समितिमा थिइन् । राष्ट्रपति ट्रम्पले नियुक्त गरेका न्यायाधीश र अन्य महत्वपूर्ण सुनुवाइमा खरो उत्रिएकी उनी छोटो समयमा नै चर्चामा आइन् ।

पछि सन् २०१९ मा उनले सन् २०२० को निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उठ्ने घोषणा गरेकी गरिन् । उनको राष्ट्रपतीय निर्वाचन अभियान खासै सफल भने हुन सकेन । डेमोक्र्याटिक प्राइमरी चुनावअघि नै उनले आफ्नो निर्वाचन अभियान स्थगित गर्न पुगिन् ।

पछि मार्च ८ का दिन उनले त्यसबेला डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने दौडमा रहेका जो बाइडेनलाई समर्थन गर्ने घोषणा गरिन् ।

उक्त निर्वाचन अभियानमा जो बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनिसकेका थिए । बाइडेनले ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाए । २०२० को नोभेम्बरमा आयोजित निर्वाचनमा बाइडेनले जित हासिल गरेपछि कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्न सफल भइन् ।

उपराष्ट्रपतिका रुपमा बाइडेन प्रशासनमा उनले अवैध आप्रवासनका विरुद्ध चालेका कदमलाई लिएर ह्यारिसको प्रसंशा हुने गर्छ । त्यसबाहेक बाइडेनले उपराष्ट्रपतिका रुपमा उनलाई महिला, काला जाति एवम् अन्य अल्पसङ्ख्यक र पछि परेका समुदायको हकहित, मतदान अधिकार सुदृढ गर्ने जिम्मा पनि दिएका थिए । यस क्षेत्रमा उनको काम पनि प्रसंशनीय मानिन्छ ।

०००

सन् १९९० को दशकताका उनी क्यालिफोर्निया राज्यको संसदका तत्कालीन सभामुख विली ब्राउनसँग सम्बन्धमा थिइन् । तर, उनको यो सम्बन्ध धेरै लामो समय टिक्न भने सकेन । ‘उनी हाम्रो सम्बन्धमा स्थायित्व छैन भन्ने निष्कर्षमा पुगेकी थिइन्’ ब्राउनले द नेशनलाई भनेका छन्, ‘उनी सही थिइन् ।’

उनले सन् २०१४ मा लस एन्जल्सका अधिवक्ता डग एमहफसँग विवाह गरेकी थिइन् । कमला बहिनी मायाले आयोजना गरेका सानो समारोहमा उनीहरुले लगनगाँठो कसेका थिए । अघिल्लो विवाहबाट डगका दुई सन्तान थिए । कमला र डगले भने सन्तान जन्माएका छैनन् । डगका छोराछोरीले आफूलाई ‘मोमला’ भनेर बोलाउने गरेको कमलाले बताएकी छिन् ।

उनी खाना पकाउन निकै रुचाउँछिन् । न्यूयोर्क टाइम्सको ‘कुकिङ’ खण्डमा आउने परिकार पकाउने गरेको उनी बताउँछिन् । त्यसबाहेक एलिस वाटर्सको ‘द आर्ट अफ सिम्पल फुड’ नामक किताबमा उल्लेखित प्रायः सबै परिकार आफूले पकाइसकेको उनी बताउँछिन् ।

उनलाई मनपर्ने खानेकुरा चाहिँ ‘चिकेन रोस्ट’ हो । त्यसबाहेक रेसिन ब्रान र बदामको दूध पनि आफूले लिने गरेको उनले बताएकी छिन् । उनी मह र कागती मिसिएको चिया पनि मन पराउँछिन् ।

उनी कन्भर्स चक टेलरका जुत्ता लगाउन मन पराउँछिन् । कन्भर्स चक टेलरका धेरैजोर जुत्ता आफूसँग रहेको कमला बताउँछिन् । बाहिर हिँड्दा यो जुत्ता आफूलाई सहज लाग्ने उनको भनाइ छ ।

उनी बिहानै ६ बने उठ्छिन् । डग भने ५ बजे नै उठिसकेका हुन्छन् । बिहान उठ्नेबित्तिकै व्यायाम गर्ने बानी रहेको उनले द कटलाई बताएकी छिन् । उनी तातो पानीले नुहाउन रुचाउँछिन् ।

उनलाई कसैले होच्याएर बोलेको पटक्कै मन पर्दैन । सन् २०१३ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले कमलालाई ‘मुलुकमा सबैभन्दा राम्री देखिने महान्यायाधीवक्ता’ भनेका थिए । पछि ओबामाले यस्तो टिप्पणीका लागि माफी मागेका थिए । उनलाई कसैले ‘महिला ओबामा’ भनेको पनि मन पर्दैन । उनले आफ्नो छुट्टै पहिचान भएको भन्दै ओबामासँग तुलना नगर्न आग्रह गरेकी थिइन् ।