तपाईं केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्नु भएको छ । यो सरकारको आयु कति छ ?
संसदका दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्न यो सरकार गठन भएको हो। मुलुकमा सुशासन, राजनीतिक स्थायित्व र अन्य केही महत्वपूर्ण कार्यभार यो सरकारले पूरा गर्नुपर्ने छ । यी दुई ठूला दलबीच संसदको बाँकी कार्यकाल आलोपालो सरकार चलाउने सहमति भइसकेको छ । त्यस आधारमा अहिलेको सरकार आलोपालोको समय अनुसार आफ्नो कार्यकाल पूरा गर्दछ ।
मलाइ के लाग्छ भने वर्तमान सरकारका मन्त्रीहरु एकवर्ष भन्दा अगाडि परिवर्तन हुँदैनन् । अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार हो, एकल सरकार होइन । यो टिम एक वर्षका लागि हो । त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अर्को टिम आउँछ । दलित पनि आउँछन्, महिलाको संख्या पनि बढ्छ । राष्ट्रिय सहमतिको सरकारलाई सबै दल मिलाउनुपर्ने बाध्यता पनि छ । अरू पार्टीहरुसँग पनि कुरा हुँदैछ । एक÷दुई दिनमा उहाँहरु पनि सहभागी हुनुहुनेछ ।
अहिले सबैतिर निराशामात्रै छ, जनतामा सरकारप्रति आक्रोश छ, यस्तो अवस्थामा सरकारले कसरी काम गर्न सक्छ ?
प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले विगतमा ३८ महिना सरकारको नेतृत्व गर्दा विकासले गति लिएको थियो । उहाँको कामलाई सारा देशले मन पराएको थियो । अब हामीहरुले पनि प्रधानमन्त्रीीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गर्छौं । देशले अहिले प्रधानमन्त्री ओलीकै नेतृत्व खोजेको छ ।
२०७९ को निर्वाचनमा कुनै पार्टीलाई स्पष्ट बहुमत थिएन । एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनेको छ । अब यो देश अगाडि बढ्छ । हामी यो देशलाई अगाडि बढाउँछौं ।
देश र जनतामा रहेको व्याप्त निराशालाई चिर्नलाई नै केपी ओली प्रधानमन्त्री बन्नु भएको हो ।
तपाईंले मुलुकले ओलीको नेतृत्व खोजिरहेको बताइरहँदा प्रचण्ड सरकारले भ्रष्टाचारका फाइल खोल्ने डरले गठबन्धन परिवर्तन गर्नु भएको आरोप लाग्ने गरेको छ नि ?
प्रचण्ड नेतृत्वको सरकारले फाइल खोल्छु मात्रै भनेको तर वास्तविक फाइल खोल्न सकेको थिएन । अब वर्तमान सरकारले अघिल्लो सरकारले खोल्न नसकेका वास्तविक फाइल खोल्छ र छानविन अगाडि बढाउँछ ।
वर्तमान सरकारले भ्रष्टाचारीहरु कसैलाई पनि छोड्दैन । जति फाइल खोल्ने पहिला चर्चा जुन थियो र फाइल खुल्दैन थियो । यो सरकारले भ्रष्टाचारीलाई छोड्दैन । ती सबै फाइलहरुको छानविन हुन्छ ।
भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकता हो । सुशासनको प्रत्याभूति दिने भनेको भ्रष्टाचार नियन्त्रण गरेर हो । पारदर्शी रुपमा सरकारले काम गर्छ ।
वर्तमान सरकारको मुख्य कार्यभार संविधान संशोधन हो, संविधान संशोधनमार्फत समानुपातिक समावेसी व्यवस्था हटाउने षड्यन्त्र भयो भनेर विरोध सुरु भइसक्यो, अब के गर्नु हुन्छ ?
वर्तमान सरकारले समावेशी समानुपातिक व्यवस्था हटाउने कुरा गरेको छैन ।समावेशी समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रिय सभामा व्यवस्थापन गरेर प्रतिनिधि सभालाई पूर्ण रूपमा प्रत्यक्ष निर्वाचितको थलो बनाइनुपर्छ भन्ने धेरैमा अभिमत छ ।
हामीहरुलेआफूहरुले कहिल्यैपनि संघीयता फाल्ने कुरा गरेको छैनौं । संघीयतालाई व्यवस्थित् बनाउनुपर्छ । फाल्ने कुरा कदापि सोच्न पनि सकिँदैन । तर, संघीयतालाई व्यवस्थित बनाउनुपर्छ । त्यहाँ समानुपातिक प्रतिनिधित्व बढी भयो । त्यसलाई हामीले व्यवस्थापन गर्ने भनेका छौं ।
मुख्य विषय भनेको अहिलेको निर्वाचन प्रणालीबाट मुलुकमा उत्पन्न राजनीतिक अस्थिरतालाई कसरी हटाउने भन्ने हो । वर्तमान निर्वाचन प्रणाली अनुसार निर्वाचनमा कुनै पनि दलको बहुमत नआउने, कुनै पनि दलको बहुमत नआउँदा साना दल हाबी हुने र राजनीतिक अस्थिरता भइराख्ने विगतको अनुभवले पनि देखाएको छ । यो प्रणालीमा सुधार गर्नुपर्छ भन्ने आवाज विभिन्न क्षेत्रबाट उठिरहेको पनि छ ।
त्यसकारण राष्ट्रिय सहमति कायम गरेर निर्वाचन प्रणालीमा सुधार गर्ने भन्ने दुई दलबीच सहमति भएको विषय हो । त्यसका लागि अन्य दलसँग पनि परामर्श हुन्छ । यसको अर्थ संविधानमा प्राप्त हक अधिकार कुण्ठित गर्ने, पश्चगामी हुने भन्ने होइन ।
कांग्रेसले योभन्दा अगाडिको गठबन्धनलाई ‘सहकारीबन्धु’ भनेर नाम दिएको थियो । अहिलेको गठबन्धनलाई ‘भुटानीबन्धु’ नाम दिन मिल्छ कि मिल्दैन ?
नाम तपाईँहरु जे पनि दिन सक्नुहुन्छ । तर, त्यस्ता कुराहरुको यो सरकारले छानविन गर्छ ।विगतमा अपराध गरेका उपप्रधानमन्त्रीदेखि नेपाल प्रहरीको आईजी, डीआईजीलगायत अहिले जेलमा छन् । अपुष्ट आरोप लागेका मानिस मन्त्री बन्दैमा उनीहरुले गरेको अपराधबाट उन्मुक्ति पाउँदैनन् । पदमा जाँदैमा आफूले विगतमा गरेको अपराध कर्मबाट कोही पनि सुरक्षित हुँदैनन् ।
तपाईँहरुले देख्नुभएको छैन यो देशका उपप्रधानमन्त्रीहरु पनि झेलखानामा छन् । आईजी, डीआईजीहरु पनि झेलखानामा छन् । अपराध गरेको छ भने पदमा जाँदैमा केही सुरक्षित हुन्छ र ? त्यो त सजाय पाउँछ । वर्तमान सरकारले हल्ला भन्दा बढी काम गरेर देखाउँछ ।
ठूलो जिम्मेवारी लिएर केपी शर्मा ओली प्रधानमन्त्री बन्नु भएको छ । हामी सबै उहाँका सहयोगी हौं । उहाँलाई सफल बनाउने दायित्व मन्त्रीहरुको हो । प्रधानमन्त्री सफल भए सरकार सफल भएको मानिन्छ । त्यसकारण अहिलेको सरकारको मुख्य काम जनतामा रहेको निरासालाई चिर्ने र आशा र भरोसालाई जगाउने हो । त्यस बाहेका जिम्मेवारी पनि सरकारले निर्वाह गर्छ ।
अघिल्लो सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गर्दा सरकार ढलेको विषयमा के भन्नुहुनछ ?
यो भनाइमा कुनै सत्यता छैन । मैले अघि नै पनि भनेँ कि पदमा गएर आफूले विगतमा गरेको अपराधबाट कोही पनि उम्किन पाउँदैन । कोही व्यक्तिले कुनै असुर गरेको रहेछ भने राज्यले उनीहरुलाई पक्राउ गर्ने र अनुसन्धान गर्ने विषय सामान्य हो । कुनै प्रकरणमा जोडिएका अमुक व्यक्ति पक्राउ गर्दा सरकार ढल्यो भन्ने कुरा बेकारको हल्ला मात्रै हो ।
हाम्रो सरकार र राज्य प्रणाली त्यति कमजोर छैन । बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने कुरामा कुनै सत्यता छैन । निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजनीतिक स्टन्ट रुपमा उक्त आरोप लगाउनु भएको हो ।
वर्तमान सरकारले सुशासनका पक्षका काम गर्छ । प्रधानमन्त्रीज्यूले पनि ६ महिनामा नजिता देखिने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । अहिलेको सरकारले सर्भिस डेलिभरीलाई महत्वपूर्ण रुपमा लिएको छ ।
जनताले मुलुकमा सरकार छ भन्ने अनुभूति गर्ने गरी काम सरकारले काम गर्छ । सकैलाई पनि कानुन उल्लघंन गर्ने अधिकार छैन । कानुन सबैका लागि बराबरी हो भन्ने भाष्य यो सरकारले खडा गर्छ ।