एसईईमा कम ग्रेड आएपछि किशोरले रोजे आत्महत्याको बाटो

एसईईमा कम ग्रेड आएपछि किशोरले रोजे आत्महत्याको बाटो

काठमाडौं । संखुवासभाको खाँदबारी ३ मा एक किशोरले एसईई नतिजाका कारण आत्महत्या गरेका छन् । १७ वर्षीय आशिष घिमिरे बिहीबार राति मृत फेला परेका हुन् ।

बिहीबार सार्वजनिक नतिजा अनुसार उनको कम ग्रेड आएपछि आफूलाई समाप्त पारे । आफन्तका अनुसार उनी नतिजा आएलगतै चिन्तित थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार तीनतले घरको दोस्रो तल्लाको बरन्डामा उनी मृत अवस्थामा भेटिएका हुन् ।

हरेक वर्ष एसईईको नतिजापछि यस्ता घटना हुँदै आएका छन् । स्कुलमा शिक्षक र अभिभावकहरूले आफ्नो बच्चाहरूलाई उचित परामर्श दिन नसक्दा यस्ता दुर्घटना हुने गरेको मनोविद्हरू बताउँछन् । मनोविद् गोपाल ढकाल भन्छन्, ‘‘शैक्षिक, सामाजिक, पारिवारिक संरचना यस्तो छ कि जसले आफ्ना विद्यार्थीलाई आत्महत्याको खाडलमा धकेलिरहेको छ ।’’

नतिजाअघि नै परीक्षार्थीलाई मानसिक रूपमा तयार गर्नुपर्ने मनोविद् ढकाल बताउँछन् । उनी भन्छिन्, ‘‘रिजल्ट अपेक्षा अनुसार नआउँदा चरम तनाव हुन्छ । क्षणिक आवेगमा आएर कसैले आत्महत्या गर्न सक्छ । परिवार र स्कुल र साथीभाइले उनीहरूलाई प्रेसर दिन्छन् । यति अंक ल्याएमा विदेश जान पाइन्छ । यो स्कुल पढ्न पाइन्छ भनिन्छ । अरूको राम्रो अंक आएपछि आफू पछि परेको महसुस हुन्छ । यसकारण नतिजा केही होइन, पछि पनि सुधार गर्न सकिन्छ भन्ने काउन्सिल गर्नुपर्छ । यदि कम आयो भने पनि सहज रूपमा लिनको लागि मानसिक रूपमा तयार बनाउनुपर्छ ।’’

एसईईलाई अनावश्यक महत्त्व दिइएको र फेल हुँदैमा संसारमा प्रगतिका ढोका बन्द हुने जसरी प्रचार हुनुले पनि आत्महत्या बढाउने मनोविद्हरूको विश्लेषण छ । ‘‘परीक्षा सीमित समयमा पढेको क्षमता देखाउने एउटा पाटो हो । सबै सफल हुन्छन् भन्ने छैन । एसईई ठूलो हाउगुजी बनाउने धारणामा पनि कम पनि गराउनुपर्छ । यो केही होइन भन्ने धारणा विकास गराउनुपर्छ’’, मनोविद्हरू भन्छन् ।