हज गरी फर्किएका व्यक्तिमा मेनिन्गोकोकल रोग देखिएपछि नेपालमा सतर्कता

हज गरी फर्किएका व्यक्तिमा मेनिन्गोकोकल रोग देखिएपछि नेपालमा सतर्कता

काठमाडौँ । साउदी अरबबाट हज गरी फर्किएका माल्दिभ्सका एक नागरिकमा मेनिन्गोकोकल रोग देखिएपछि नेपालमा सतर्कता अपनाइएको छ।

हज गरी फर्केका आफ्ना नागरिकमा मेनिन्गोकोकल रोग देखा परेको भन्दै माल्दिभ्स सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत जानकारी दिएपछि नेपालमा आकस्मिक बैठक राखेको छ।

यो विषयमा बुधबार डब्ल्यूएचओका प्रतिनिधि सहित स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा नेपालमा मेनिन्गोकोकल रोगको जोखिमबारे आकस्मिक बैठक राखिएको थियो।

माल्दिभ्सले मेनिन्गोकोकल रोगको पहिलो विरामी फेला परेको पुष्टि गरेको छ। हेल्थ प्रोटेक्शन एजेन्सीले मंगलबार माल्दिभ्समा रोग पत्ता लागेको पुष्टि गरेको जनाइएको छ। माल्दिभ्समा मेनिन्गोकोकल रोगका एकजना विरामी पत्ता लागेको घोषणा गरे पनि अन्य विवरण खुलासा नगरेको जनाइएको छ।

नेपालमा पनि हरेक वर्ष गृह मन्त्रालयको समन्वयमा इस्लाम धर्मावलम्बी हज गर्न जान्छन्। यो वर्ष पनि नेपालबाट ८ सय इस्लाम धर्मावलम्बी हज गरी फर्किएका छन्। माल्दिभ्सका नागरिकमा मेनिन्गोकोकल रोग देखिएपछि नेपालमा पनि सतर्कता अपनाउने निर्णय गरिएको (इडिसिडी) का प्रमुख डा. यदुचन्द्र घिमिरेले बताए। डा। घिमिरेले भने‚ ‘हुनत हाम्रोमा हरेक वर्ष हजयात्रीलाई भ्याक्सिन लगाएर पठाइन्छ तर योपटक भर्खरै हज गरी फर्किएका व्यक्तिमा माल्दिभ्समा मेनिन्गोकोकल रोग देखिएपछि हामीले सतर्कता अपनाउने निर्णय गरेका हौँ।‘

अब भर्खरै हज गरी फर्किएका नागरिकलाई निगरानी राखिने र फर्कन बाँकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको हेल्थ डेक्सबाटै उनीहरूमा केही लक्षण छ कि छैन भनेर हेरिने र केही समय उनीहरूको निगरानी समेत गरिने निर्णय भएको इडिसिडीका निर्देशक डा. घिमिरेले बताए। ‘

हरेक वर्ष साउदी अरबको मक्का, मदिनामा हज गर्न  धेरै नेपाली इस्लाम धर्मावलम्बी जाने गर्छन्। हजका लागि मक्का मदिनामा संसारभरबाट एकैपटक धेरै मान्छे भेला हुने र उनीहरू विभिन्न देशबाट आउने हुँदा त्यस्ता मानिसबाट कुनै पनि संक्रमणयुक्त रोग हज यात्रीलाई नलागोस् र देशमा समेत त्यस्तो संक्रमण रोग नभित्रिओस् भनेर सरकारले हज जाने यात्रीलाई अनिवार्य रूपमा भ्याक्सिन लगाउँदै आएको छ।

नेपालमा मक्का मदिनामा हजयात्रामा जानुअघि अनिवार्य रूपमा प्रत्येक यात्रीले ३ वटा भ्याक्सिन क्वार्डिभ्यालेन्टए सिवाइडब्लू मेनिङकोकल कन्जुगेट भ्याक्सिन, इनयाक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) र सिजनल इन्फ्लुएन्जा भ्याक्सिन अनिवार्य लगाउनुपर्ने हुन्छ। भ्याक्सिन लगाएर पठाइने भए पनि त्यही ठाउँबाट फर्केका व्यक्तिम संक्रमण देखिएपछि उच्च निगरानी गर्नुपरेको इडिसिडीले जनाएको छ।

के हो मेनिन्गोकोकल रोग

मेनिन्गोकोकल ब्याक्टेरियल संक्रमण हो। मेनिन्गोकोकलले मस्तिष्क र मेरुदण्डको वरपरका तन्तुहरूमा गम्भीर असर निम्त्याउँछ, जसलाई मेनिन्जाइटिस पनि भनिन्छ। रक्तप्रवाहमा संक्रमण, मेनिन्गोकोकल सेप्टिसिमिया वा मेनिन्गोकोसेमिया र निमोनिया पनि भनिन्छ। यसले फोक्सो संक्रमणको गम्भीर स्वास्थ्य जटिलता पनि निम्त्याउँछ।

मेनिन्गोकोकल संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सरुवा संक्रमण हो।मेनिन्गोकोकल ब्याक्टेरिया रगतको स्थानान्तरण, श्वासप्रश्वास प्रणालीबाट, खोक्दा, हाछ्युँ गर्दा, नजिकै बस्ने वा घनिष्ठ हुने माध्यमबाट फैलिन्छ।

यसको संक्रमण हुँदा शुरुमा फ्लूको जस्तै लक्षणहरू घाँटी दुख्ने, हाछ्युँ आउने‚ हल्का ज्वरो आउने जस्ता सामान्य प्रकारका स्वास्थ्य समस्या देखिन्छन्। यो संक्रमण शरीरमा यति छिटो फैलिन्छ कि समयमै उपचार गर्न नसके मानिसको मृत्यु हुनसक्छ।