सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरले लगायो ताला

सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरले लगायो ताला

काठमाडौँ । काठमाडौँँ महानगरपालिकाले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ। महानगरको शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले हिजो विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो ।

यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारको सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका आठ र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए ।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको दाहालले बताए । यसैगरी व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ ।