नेविसंघको स्वर : ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो

नेविसंघको स्वर : ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ । नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए ।

नेपालको सम्प्रभुता भएको तर भारतले विगत लामो समयदेखि अवैध रूपमा ओगटिरहेको लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे अहिले आम नेपालीले सरोकार व्यक्त गर्दै भारतको सर्वत्र विरोध सुरु भएको छ ।

Image may contain: 16 people, crowd and outdoor