संसदीय समितिको निर्देशन, ‘लिम्पियाधुरासहितको नेपालको नक्सा तत्काल सार्वजनिक गर्नू’

संसदीय समितिको निर्देशन, ‘लिम्पियाधुरासहितको नेपालको नक्सा तत्काल सार्वजनिक गर्नू’

काठमाडौँः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली भूभाग लिम्पियाधुरा, कालापानी तथा लिपुलेक समेत समेटिएको नक्सा तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छ । समितिको सोमबारको बैठकमा दुई विभागीय मन्त्रीसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । संविधानको अनुसूची ३ मा भएको नक्सा समेत गलत भएको भन्दै सांसद्हरुले असन्तुष्टि समेत जनाएका थिए ।

सांसद्हरुको असन्तुष्टिपछि समितिले पाठ्क्रम लगायतबाट समेत नक्सा परिमार्जन गर्न भनेको छ ।

समितिले निर्देशनमा भनेको छ ‘नेपालको शैक्षिक सामाग्रीहरुमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्नुका साथै हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुरासम्मको भूभाग समावेश गरी नयाँ नक्सा तयार पार्न नेपाल सरकारलाई निर्देशन दिने ।’

समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कतिपय अवस्थामा असावधानीबश गलत नक्सा प्रयोग भएको बताइन् ।

समितिमा उनले भनिन् ‘नापी विभागले जारी गरेको नक्सा आधिकारिक हो । अन्य नक्साको स्रोतमा समस्या हुन पनि सक्छ । कतिपय अवस्थामा गुगलबाट खोजिएका नक्सा गलत रुपमा प्रयोग भएका छन् । असावधानीवश प्रयोगमा आएका छन् ।’

समितिले सरकारलाई कालापानी विवाद समाधानका लागि कुटनीतिक रुपमा पहल गर्न निर्देशन दिएको छ । उच्चस्तरीय राजनीतिक रुपमा समस्या सम्बोधनका लागि समितिले सरकारलाई निर्देशन समेत दिएको छ ।