काठमाडौँ । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।
“यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार-पाँच दिनसम्म उठ्ने सम्भावना छैन”, उनले भने, “कि मान्छे हटाऊ, कि फोहर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ । विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।”
फोहर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनिबेँसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए।
यस सम्बन्धमा काठमाडौँमा भइरहेको विभिन्न सम्झौतालाई स्थानीयमाझमा ल्याई सहमति जनाउनुपर्ने उनको भनाइ थियो ।