काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित क्लबका कर्मचारीहरुमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ । ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काँउदा प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाएको हो । प्रहरीको गाडी बिग्रिएकाले हिँडाएर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । एसपी सिताराम रिजालले भने, ‘प्रहरीको गाडी पुरानो छ, बाटोमा बिग्रिएकाले हुनसक्छ ।’ तर अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार आदेश बमोजिम नै गुरुङलाई हड्कडी लगाएर हिडाइएका हो । प्रहरीले सानुभाइसँगै टोखाका बिक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो । सानुभाइसँगै बिक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको प्रहरीले जनाएको छ ।
सानुभाइको अपराधिक इतिहास
प्रहरीका अनुसार, हत्कडीसहित प्रहरीले डुलाएका गुरुङ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार, २०७२ पुस २५ मा उनी नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।
२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।
उनै गुरुङले १५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।