दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु

दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु

काठमाडौँ । मनाङ एयरको एक हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटनामा पर्दा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ । पाँच जना मेक्सिकोका नागरिक र एकजना पाइलट रहेका थिए । माउन्टेन फ्लाइटमा गएर काठमाडौँ फर्किँदै गर्दा उक्त हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

९एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट स्थानीय समयअनुसार बिहान १०ः५मा पाँच जना यात्रु लिएर काठमाडौँका लागि उडेको थियो । उडेको केहीबेरमै सम्पर्कविहीन भएको थियो । उडेको ८ मिनेटमै सम्पर्कविहीन भएको हेलिकोप्टर पिके पिक क्षेत्रमा दुर्घटनामा परेको थियो ।

१० बजेर १३ मिनेट जाँदा लुक्लास्थित टावरमा अन्तिमपटक सम्पर्क भएको र त्यसपछि उक्त हेलिकोप्टर सम्पर्कमा आउन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिँदै त्यसमा सवार ६ जनाकै शव फेला परेको बताए ।   सो एयरले दिएको जानकारीअनुसार दुर्घटनाग्रस्त क्षेत्रमा खराब मौसमका कारण अवतरण हुन नसकेको हो ।