काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले आज सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त गरेको उल्लेख गर्दै आजदेखि तारिखमा रहेको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, 'आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।'
सर्वोच्च अदालतले असार १३ गते लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो । सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन मंगलबार आदेश दिएको हो ।
हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने बताएपछि अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए । बालेन आज सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका थिए ।