देउवा र सिटौलाबीच भयो यस्तो सहमति, पौडेल पक्षमा खैलाबैला

देउवा र सिटौलाबीच भयो यस्तो सहमति, पौडेल पक्षमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल सभापति शेरबहादुर देउवाकै प्यानलबाट १४औँ महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता पौडेललाई आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार बनाउन देउवा राजी भएका हुन् । शुक्रबार राति मात्रै देउवा र सिटौलाले पौडेललाई महामन्त्री बनाउने सहमति गरेका हुन् ।

चुनावी तालमेलअनुसार देउवाले आफ्नो प्यानलबाट सिटौला पक्षका नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने सहमति गरेका छन्। महाधिवेशनको उद्घाटन सत्रमै सिटौलाले आफूले युवा नेतालाई अघि सार्ने बताएका थिए। 

अघिल्लो महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला यसपटक पदाधिकारीमा २ वटा उम्मेदवारी सुनिश्चित गरेर संस्थापन पक्षसँग गठबन्धन गर्ने लागेका हुन्। सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरी अगाडि बढाएका छन्।

यस्तै उमाकान्त चौधरीलाई थारु क्लष्टरबाट सहमहामन्त्री र सुधीर सिवाकोटीलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने सहमति भएको नेता भीमसेनदास प्रधानले जानकारी दिए। दरबारमार्गको एक होटेलमा अहिले जारी छलफलमा देउवा पक्ष र सिटौला पक्ष मिलेर निर्वाचनमा जाने विषयमा सहमति भएको छ।

पौडेललाई महामन्त्रीमा देउवा समूहले सहयोग गर्ने सहमति गरेका सिटौलाले सहमतिमा सभापति देउवालाई सहयोग गर्ने पनि बताएका छन् । १३औँ महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए । 

यता देउवा र सिटोलाबीच सहमति भएपछि पौडेल पक्ष तनावमा देखिएको छ ।