सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अनुरोध, उपत्यकामा कहाँ कहाँ लगाईदैछ खोप ?

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अनुरोध, उपत्यकामा कहाँ कहाँ लगाईदैछ खोप ?

काठमाडौं । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रास सुरु भएको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोनको संक्रमण देखिएसँगै नेपालमा पनि यसको त्रास बढेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाउन थालिएकाले नागरिकले उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन अपिल गरेको हो । 
उपत्यकाका तीनै वटै जिल्लाका विभिन्न स्थानमा बिहान १० देखि अपराह्न ३ बजेसम्म कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

कहाँ कहाँ लगाईदैछ खोप ? 

काठमाडौंमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, कलंकीस्थित शहीद मेमोरियल अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, नयाँ बसपार्कस्थित लोट्से भवन, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, महाबोद्धस्थित वीर अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बल्खुस्थित वयोधा अस्पताल, थापाथलीस्थित परोपकार प्रसूतीगृह तथा स्त्रीरोग अस्पताल, मिनभवनस्थित निजामती कर्मचारी अस्पताल र जडीबुटीस्थित एपेक्स पोलिक्लिनिकमा खोप लगाइँदै छ ।

ललितपुरमा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैंबु स्वास्थ्य चौकी, महालक्ष्मी नगरपालिकास्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्य चौकी, गोदावरी नगरपालिकास्थित बज्रबाराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र र लेले प्राथमिक स्वास्थ्य केन्द्र, कोन्जोसोम गाउँपालिकाको चौधरे स्वास्थ्य चौकी, बागमती गाउँपालिकाको भट्टेडाँडा स्वास्थ्य चौकी र महांकाल गाउँपालिकाको गोटिखेल स्वास्थ्य चौकीमा खोप लगाईनेछ ।

भक्तपुरको थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा बुधबार र शुक्रबार खोप लगाईनेछ । त्यस्तै च्यामसिंहस्थित ख्वप अस्पतालमा विदाको दिनबाहेक अन्य दिन खोप लगाइने मन्त्रालयले जनाएको छ ।