कांग्रेस महाधिवेशन : शुक्रबार १ बजे उद्घाटन, काठमाडौं उपत्यका बाहिरकालाई बोलाइएन

कांग्रेस महाधिवेशन : शुक्रबार १ बजे उद्घाटन, काठमाडौं उपत्यका बाहिरकालाई बोलाइएन

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन हुनेछ भने महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालय सानेपाले जनाएको छ ।

भृकुटीमण्डपको प्राङ्गणको मञ्चमा १५० जनाभन्दा धान्ने मञ्च तयार गरिएको छ । महाधिवेशनमा ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने पार्टी कार्यालयले जनाएको छ ।

प्राय सबै महाधिवेशन प्रतिनिधि बिहीबार नै काठमाडौं आइसकेर महाधिवेशनको झोलासहितका सामग्री लिएर गइसकेको बताइएको छ ।

उनीहरुलाई शुक्रबार विहानको खाजा र खाना दिइएने छैन भने साँझको खानादेखि २५ गतेदेखि २७ गतेसम्म विहानको खाजा, खाना र साँझको खानाको पनि पूर्ण व्यवस्था गरिएको छ । 

उद्घाटनमा नेपालका विभिन्न राजनीति दलसँगै भारतको भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधि आउने जनाइएको छ । 

कोरोना महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन सत्रमा महाधिवेशन प्रतिनिधि र सहभागी हुने सम्बन्धित व्यक्तिमात्र आउने बताइएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ। त्यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले उक्त क्षेत्र सजिएको छ । 

महाधिवेशनका लागि नेपाल प्रहरीले सुरक्षाको प्रबन्ध मिलाउने र ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नेछ । 

महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे गरिने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  त्यस्तै मंसिर २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने दावी विरोधका लागि सोही दिन साँझ ७ देखि ९ बजेसम्मको समय छुट्याइएको छ । 

सोही राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ । मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । 

मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुनेछ । सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था आएमा पनि सोही स्थानमा निर्वाचन हुनेछ। 

अन्य पदाधिकारीको मतगणना भने उम्मेद्वारका प्रतिनिधिको रोहबरमा पार्टी कार्यालय सानेपामा हुनेछ।