काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकाशमान सिंहलाई मनाउन सफल भए आफ्नो समर्थन पनि पौडेललाई रहने बताएका छन् ।
बोहोराटारस्थित पौडेल निवासमा पुगेर उनले सिंहले दाबेदारी छोडेको अवस्थामा पौडेललाई साझा उम्मेदवार बनाउन तयार रहेको बताएका हुन् । सिंहले दाबेदारी नछोडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेललाई आग्रह गरेका छन् ।
वरिष्ठ नेता पौडेल पक्ष मंगलबार देखि सहमतिको साझा उम्मेदवार बनाउन दौडधुपमा छ । नेताहरूले चयन गर्न नसकेमा मतदानमार्फत भए पनि टुंगो लगाइने युवा नेताहरूले बताइरहेका छन् ।
बुधबार साँझको बैठकमा पौडेलले भावुक हुँदै आफूलाई नमान्ने हो भने पार्टीको जिम्मेवारीबाट अलग रहने बताएका थिए । अन्तत शेखर र प्रकाशमानबीच सहमति नजुटेकोले पौडेलको पक्षमा सहमति जुटाउन युवा नेताहरु कम्मर कसेर लागेका छन् ।