काठमाडौं । शुक्रवार शुरू हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बसिरहेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूको बैठक बसिरहेको हो ।
सोमबार नेता पौडेल र मंगलबार प्रकाशमान सिंहको निवासमा भएको बैठकमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि बुधवार पुनः बैठक बसेको हो । हिजोको बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिको प्रतिस्पर्धाबाट आफू पछि हट्ने संकेत गरेका थिए ।
सभापतिका लागि मुख्य आकांक्षी डा। शेखर कोइराला र प्रकाशमान सिंहले दबी नछाडेपछि साझा उम्मेदवार तय गर्न बैठक बसेको हो । वरिष्ठ नेता पौडेलले बुधवार साँझसम्म आफूहरूले उम्मेदवार टुंग्याउने बताएका छन् । मंगलवारको बैठकमा नेता पौडेलले शेखर र प्रकाशमानबीच सहमति भए आफूले मान्ने बताएका थिए । बुधवारको बैठकमा सभापति बाहेक पदाधिकारीको प्यानल बनाउने विषयमा समेत छलफल हुँदैछ ।
संस्थापन इतरबाट सभापतिमा एकभन्दा बढी उम्मेदवार बनेपनि पदाधिकारी र केन्द्रीय समितिको लिष्ट भने साझा बनाउने सहमति भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा शुरू हुँदैछ ।