घरभेटीका कारण विवादमा परेको भन्दै माओवादीले प्रचण्डलाई घर बनाइदिने

घरभेटीका कारण विवादमा परेको भन्दै माओवादीले प्रचण्डलाई घर बनाइदिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि छुट्टै घर बनाउने तयारी थालेको छ। माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डका लागि पार्टीले छुट्टै घर बनाउने गरी तयारी थालिएको बताएका छन्। 

शान्ति सम्झौतापछि खुला राजनीतिमा आएका प्रचण्ड राजधानी काठमाडौंका विभिन्न ठाउँमा डेरामा बस्दै आएका छन्। सुरुमा काठमाडौंको नयाँ बजारमा डेरा लिएर बसेका उनी त्यसपछि लाजिम्पाटस्थित एउटा महंगो भवनमा भाडामा बसेका थिए। त्यहाँबाट पनि सरेर प्रचण्ड अहिले ललितपुरको खुमलटारमा त्यस्तै महंगो भवनमा बस्दै आएका छन्। 

सशस्त्र विद्रोहबाट शान्तिप्रक्रियामा आएपछि प्रचण्डले आफ्नो सुरक्षालाई सबभन्दा महत्व दिँदै आएका छन्। त्यहीकारण पनि उनले आफू बस्ने घर सोहीअनुसार छनोट गर्दै आएको देखिन्छ। लाजिम्पाट र खुमलटारको निवासका कारण उनले धेरै टिकाटिप्पणी र आलोचना पनि ब्यहोर्नुपरेको छ। जस्तो कि, लाजिम्पाटमा प्रचण्ड बसेको घर व्यापारी अजयराज सुमार्गीको हो। शंकास्पद कारोबार गरेर धन आर्जन गरेका भनिएका सुमार्गीको घरमा बसेको विषयलाई लिएर प्रचण्डको आलोचना हुने गरेको थियो। कतिपयले त त्यो घर सुमार्गीले प्रचण्डकै लागि किनिदिएकोसमेत बताउने गरेका थिए।

तर, यही चर्चाबीच उनले लाजिम्पाटको त्यो घरमा ‘डेरा’ छाडे। लाजिम्पाटबाट सरेर प्रचण्ड, निर्माण व्यवसायी सारदाप्रसाद अधिकारीको खुमलटारस्थित भवनमा बस्दै आएका छन्। प्रचण्डका पछिल्ला घरभेटी अधिकारी विभिन्न सरकारी ठेक्का लिएर लामो समयसम्म अलपत्र पार्ने निर्माण व्यवसायीका रुपमा चिनिन्छन्। अधिकारीले ठेक्का लिएका योजना लामो समयसम्म अलपत्र पर्दा प्रचण्डको समेत आलोचना हुने गरेको छ। 

सधैं घरभेटीका कारण विवादमा परेपछि पार्टीले पैसा जम्मा गरेर अध्यक्षका लागि घर बनाउने तयारी थालेको गजुरेलको भनाइ छ। नेताका लागि निवास खोज्न जटिल भएको गजुरेलले आफ्नो अनुभव सुनाए। अध्यक्षसहित पार्टीका शीर्ष नेताहरुको निवास पार्टीले नै बनाउने विषयमा यसअघि बालाजु विस्तारित बैठकमा प्रसंगसमेत उठेको गजुरेलले बताए।