ओमिक्रोन भेरियन्टबाट किन युवा सबैभन्दा बढी संक्रमित ?

ओमिक्रोन भेरियन्टबाट किन युवा सबैभन्दा बढी संक्रमित ?

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको विषयमा संसारभरी चिन्ताको माहौल बनेको छ । ओमिक्रोन नेपालमा पनि भित्रिसकेको छ । यो भारतलगायत संसारका ३८ देशमा फैलिसकेको छ । संसारभरी विध्वंश मच्चाएको डेल्टा भेरियन्टभन्दा पनि थुप्रै गुणा संक्रामक ओमिक्रोनलाई ‘सुपर माइल्ड’ भनिँदैछ । साथै, यसको स्पाइक प्रोटिनमा ३० भन्दा बढी म्युटेशनका कारण यसमाथि भ्याक्सिनको असर कम हुने आशंका छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनमा ५० भन्दा बढी म्युटेशन भइसकेको छ । यतिमात्रै होइन, हालसम्म कोरोनाको सबैभन्दा खतरनाक भेरियन्ट मानिएको डेल्टाको तुलनामा ओमिक्रोनको स्पाइक प्रोटिनमा पनि ३० भन्दा बढी म्युटेशन भइसकेको छ । यत्तिका धेरै म्युटेशनका कारण नै ओमिक्रोन डेल्टाको तुलनामा अत्यधिक तीब्र गतिमा फैलने भेरियन्ट बन्छ ।

अब प्रश्न यो उठ्छ कि तीब्र रुपमा फैलन सक्षम ओमिक्रोन बढी खतरनाक पनि छ त रु यसको जवाफमा महामारी विशेषज्ञदेखि विश्व स्वास्थ्य संगठनसम्मका विशेषज्ञले ओमिक्रोनलाई  हल्का लक्षणयुक्त अर्थात् ‘सुपर माइल्ड’ भेरियन्ट भनेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन एउटा यस्तो भेरियन्ट हो जुन तीब्र गतिमा फैलन त सक्षम छ तर यसबाट गम्भीर संक्रमणको साटो हल्का लक्षण मात्रै हुन्छ ।

सुरुवाती डाटाका अनुसार चाहे दक्षिण अफ्रिका होस् वा युरोप, ओमिक्रोनका धेरैजसो संक्रमित युवा हुन् । साथै, यो भेरियन्टले ती व्यक्तिहरुलाई पनि संक्रमित गरेको छ जसले भ्याक्सिनको दुबै डोज लगाइसकेका छन् । यी दुई कारणका लागि यो भेरियन्ट चिन्ताको विषय बनेको हो । यो दुई कुराको अर्थ यो हो कि ओमिक्रोन उमेरदार व्यक्तिको तुलनामा बलियो प्रतिरोधी क्षमता भएका युवा र दुबै डोज भ्याक्सिन लगाइसकेका व्यक्तिलाई पनि संक्रमित गर्न समक्ष छ ।

ओमिक्रोनका कारण भारतमा तेस्रो लहर आउने आशंका पैदा भएको  छ । आइआइटी कानपुरको शोधमा संलग्न प्राध्यापक मणिन्द्र अग्रवालको आफ्नो व्याख्याका अनुसार ओमिक्रोन भेरियन्टका कारण भारतमा सन् २०२२ को सुरुवातमा कोरोनाको तेस्रो लहर आउन सक्छ । यो रिपोर्टका अनुसार तेस्रो लहरका बेला भारतमा दैनिक संक्रमितको संख्या डेढ लाख पुग्न सक्छ । साथै फेब्रुअरीमा यो चरम स्थितिमा पुग्न सक्छ । दोस्रो लहरका बेला भारतमा कोभिड संक्रमितको दैनिक संख्या ४ लाख पार भएको थियो ।

यस्तै, युरोपमा पनि ओमिक्रोनका संक्रमितमा अबको केही महिनामा तीब्र वृद्धि देखिने आशंका छ । युरोपियन युनियन पब्लिक हेल्थ एजेन्सीले बिहिबार दिएको जानकारी अनुसार अबको केही महिनामा युरोपका कुल कोरोना संक्रमितमध्ये आधाभन्दा बढी ओमिक्रोनद्वारा संक्रमित हुनसक्छन् ।