राप्रपासँग पार्टी एकताबारे रवीन्द्र मिश्रको यस्तो प्रतिक्रिया

राप्रपासँग पार्टी एकताबारे रवीन्द्र मिश्रको यस्तो प्रतिक्रिया

काठमाडाैं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयी भएको ३ दिनपछि बधाई दिएका छन्। आज मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत मिश्रले वामपन्थीविरुद्ध विष वमन गर्दै लिङ्देनको जितले तिनलाई परास्त गर्न आफ्नो पार्टीलाई मद्दत पुग्नेसमेत उल्लेख गरेका छन्। 

विवेकशील साझाका अध्यक्ष मिश्रले आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दा होस् वा अन्तर्वार्ता दिँदा खासगरी नेपालका कम्युनिस्ट पार्टीको उछितो काढ्ने गरेका छन्। अस्ति भर्खर दुई समूहसँगको पार्टी एकता समारोहमा पनि उनले नेपालका वामवादीहरूको तीव्र विरोध गरेका थिए। 

यसपछि अहिले राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिँदा पनि उनले वामपन्थीविरुद्ध गम्भीर आरोप लगाएका हुन्। ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएकोमा राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछु। अर्थ-राजनीतिकरूपमा नेपाललाई ‘कल्याणकारी’ नरम वामपन्थी एजेन्डा चाहिएको छ’, अध्यक्ष मिश्रले लेखेका छन्, ‘तर राजनीतिक–सामाजिक रूपमा नेपाल मूलतः नरम परम्परावादी समाज हो। त्यसलाई अस्विकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन।’

अगाडि लेखेका छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई बिथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्त्वपूर्ण भूमिका खेल्नेछ।’ आफ्नै पार्टीको लाइनमा सहयोग पुग्ने आशा व्यक्त गरेर रवीन्द्र मिश्रले राप्रपासँग पनि पार्टी एकीकरण गर्ने इच्छा व्यक्त गरेको चर्चा छ ।