काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन मिति नजिकिसक्दा पनि संस्थापनइतर पक्षले साझा उम्मेद्वार तय गर्न सकेको छैन । सो समूहको हिजो बसेको बैठकमा साझा उम्मेदवार चयन गर्नेबारे छलफल भएपनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेपनि सहमति जुट्न नसकेको हो । रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति नभएको बताइएको छ ।
बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल रहेको बताउँदै छाडिदिन आग्रह गरेका थिए । यद्यपि अरु नेताको नाममा सहमति बनेपनि आफूलाई छाड्न कुनै आपत्ति नभएको उनको भनाइ थियो ।