काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै भएको बताएका छन् । सत्ता गठबन्धनका नेताहरू प्रचण्ड र माधवकुमार नेपालले आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम रहने बताइरहँदा देउवाले त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा कांग्रेस सभापतिसमेत रहेका देउवाले राष्ट्रियसभाको चुनावपछि गठबन्धन रहने कि नरहने भन्ने विषयमा कुनै छलफल नभएको बताए ।
'अहिलेको गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएर कुनै सहमति भएको छैन’, उनले भने । निर्वाचन आयोगले आगामी १२ माघमा राष्ट्रियसभा चुनाव गर्दैछ । राष्ट्रियसभामा २० सदस्यको पदावधि २० फागुनमा सकिँदैछ ।