कांग्रेस अधिवेशन : गण्डकीमा संस्थापनइतरको वर्चस्व, को को आए पदाधिकारीमा ?

कांग्रेस अधिवेशन : गण्डकीमा संस्थापनइतरको वर्चस्व, को को आए पदाधिकारीमा ?

नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानबाट उनी सभापतिमा विजयी भएका हुन्।

कुल ११४६ मत खसेकोमा उनले ६१२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पार्टी सभापति शेरबहादुर देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याए। 

कार्यसमितिमा उपसभापतिबाहेक सबै पदमा शर्मा पक्षकै उम्मेदवारले जित हात पारे। गण्डकीको उपसभापतिमा मेखलाल श्रेष्ठ र कल्पना तिवारी विजयी बने भने महामन्त्रीमा  किरण बाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी बनेका छन्।  उपसभापतिमा विजयी श्रेष्ठ भने देउवापक्षीय हुन्।

यता बागमती प्रदेश सभापतिमा पुनः मतदान हुने भएको छ । पहिलो चरणमा शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु तीनै जनाको ५१ प्रतिशत नआएपछि आज पुनः मतदान हुने भएको हो। शनिबार भएको मतदानमा ईन्द्रबहादुर बानियाँले सबै भन्दा धेरै मत ल्याएका थिए।

सभापतिमा पहिलो हुने बानियाँले ९ सय ९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत ल्याएका छन्। तेस्रो हुने भीमसेन दास प्रधानले १ सय ९७ मत ल्याए। बढि मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए।