एमाले महाधिवेशन : साढे ७ बजेसम्म खस्यो ११५० मत, साँझसम्म मत परिणाम घोषणा हुने

एमाले महाधिवेशन : साढे ७ बजेसम्म खस्यो ११५० मत, साँझसम्म मत परिणाम घोषणा हुने

सौराहा । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान जारी छ। मतदान मंगलबार बिहान ४ बजेपछि सुरु भएको थियो। बिहान साढे ७ बजेसम्म ११५० मत खसेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए। अरु तीन घण्टा जतिमा मतदान सकिने उनको भनाइ छ। २१७५ जना प्रतिनिधि रहेको एमाले महाधिवशेनमा कतिपय महाधिवेशन छाडेर फर्किसकेकाले केही कम मत खस्ने आकलन गरिएको छ।

‘मतदान सकिएपछि मुचुल्का बनाउनुपर्छ। कानुनी प्रक्रिया पूरा गर्नुपर्छ। सबै मतलाई जोडेर परिणाम घोषणा गर्छौं। आज साँझसम्म मत परिणाम घोषणा भइसक्छ,’ उनले भने।

मतदानको लागि ६९ वटा विद्युतीय मेसिन प्रयोगमा ल्याइएको छ। विभिन्न दश समूहका उम्मेदवारबीच भएको मतदानमा एक मतदातालाई मत दिन १० देखि १५ मिनेट लागिरहेको बताइएको छ।