काठमाडौ । सरकारले १० जना सचिवको एकै पटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । उनीहरुमध्ये ३ जना सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवा भएका हुन् ।
मन्त्रीपरिषदको निर्णयनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ भने यसअघि सो मन्त्रालयमा रहेका सचिव एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ ।
उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र सो मन्त्रालयमा रहेका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको हो ।
उक्त मन्त्रालयका शिक्षा तर्फका सचिव रामप्रसाद थपलिया पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव भरतमणि सुवेदीलाई पनि आयोगमा ल्याइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव महेश्वर न्यौपाने र भरतमणी सुवेदी तथा निर्वाचन आयोगमा सरुवा भएका सचिव गोकर्णमणि दुवाडी ४ महिना नपुग्दै दोस्रो पटक सरुवा भएका हुन् ।