काेराेनाविरुद्ध पूर्ण खोप लगाएकाबाट पनि डेल्टा भाइरस सर्न सक्छ

काेराेनाविरुद्ध पूर्ण खोप लगाएकाबाट पनि डेल्टा भाइरस सर्न सक्छ

काठमाडौ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणकाविरुद्ध अहिले भटाभट खोप लगाइदै छ । अधिकांश विकसित मुलुकहरुले कोरोनाविरुद्धको खोप लगाइसकेको छ भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा भने अझै खोप लगाउने क्रम जारी छ ।

आफ्नै मुलुकमा खोप उत्पादन गर्न नसक्ने भएपछि अन्यत्र मुलुकबाट खोप झिकाई लगाउने क्रम सुरु गर्दा ढिला भएको हो । यता कोरोना भाइरस भने उत्परिवर्तन भई नयाँ स्वरुपमा थप शक्तिशाली बन्दै गएको छ ।

भर्खरै मात्रै कोरोनाको दोस्रो भेरियन्ट सामना गरेकाे विश्वलेले अब कोरोनाको तेस्रो भेरियन्ट पनि सामना गर्नुपर्ने विज्ञहरुको भनाई छ ।

वैज्ञानिकहरुका अनुसार पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन् । पूर्ण खोप लगाएकोमा ढुक्क हुने अवस्था नरहेको भन्दै खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने र उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र कोभिडबाट जोगाउन खोप महत्वपूर्ण छ । तर, डेल्टा भाइरस संक्रमणबाट जोगाउन र घरभित्रै सर्नबाट बच्न खोप आफैमा पर्याप्त नभएको हाम्रो अध्ययनले देखाएको छ ।’

द लान्सिट इन्फेक्सियस डिजिज जर्नलमा अध्ययन प्रकाशित छ । सन् २०२० को सेप्टेम्बरदेखि सन् २०२१ को सेप्टेम्बरको अवधिमा गरिएको सो अध्ययनमा ६२१ जनालाई सहभागी गराइएको थियो ।