दोहोरो अंकले बजार बढ्दा किन घट्यो कारोबार ? यस्ता छन् कारण

दोहोरो अंकले बजार बढ्दा किन घट्यो कारोबार ? यस्ता छन् कारण

लगातार घटिरहेको सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। बजारमा आज ४१.८४ अंकको बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २६१२.६५ को विन्दूूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले बढेर ४९२.०२ को विन्दूूमा पुगेको छ। कारोबार रकम भने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले खरिदचाप बढेकै कारण बजार बढेको बताउँछन्। बजारमा अब प्यानिक सेल रोकिएको उल्लेख गर्दै रौनियारले भने, ‘आज लगानीकर्ताहरुले घटेर सेयर बेन्च मानेनन् तर सस्तोमा सेयर उठाउन चाहनेको चाप बढ्दो बजार बढ्यो।’

रौनियारले ब्रोकरहरुले कोल्याट्रल शून्य पार्ने र लिमिट घटाइने काम गर्दा आज लगानीकर्ताहरुले सेयर किन्न नपाउँदा कारोबार घटेको आरोप लगाए। कारोबार घट्नुको अर्को कारण भनेको अझै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहनु पनि रहेको उनको भनाइ छ।

नियामकको अस्थिर नीतिले बजारमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै रौनियारले बजारलाई आफ्नै लयमा चल्न दिन नियामक निकायहरु सच्चिन जरुरी रहेको बताए। ‘बजारमा अझै आत्तिहाल्नुपर्ने अवस्था नरहेकोले सोचविचार गरेर राम्रा र बलिया कम्पनीका सेयर उठाउँदा उचित प्रतिफल पाउन सकिन्छ’, उनले सुझाव दिँदै भने।

बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार निकै घटेकोले आज बढेको बताए। ‘अब सेयर बेचेर दसैँअघि पैसा नआउने भएकोले पनि बिक्रीचाप घटेको छ’, उनले भने, ‘दसैँअघिसम्म अब बजार सामान्य तलमाथि नै हुने सम्भावना छ।’

घिमिरेले कात्तिकमा आउने बैंकको ब्याजदरले बजारको दिशा तय गर्ने बताए। ‘तरलता सहज पनि हुन सक्छ र मौद्रिक नीतिमा सेयर बजारसम्बन्धी व्यवस्थाहरुमा केही परिमार्जन भएमा बजार गति लिन सक्छ’, उनले भने। 

घटेको बजारमा यही मूल्यमा सेयर बेच्नभन्दा होल्ड गरे फाइदै हुने घिमिरेको सुझाव छ। ‘आत्तिएर बेचेमा पछि पछुताउनुको विकल्प रहँदैन’, उनले भने।  

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ समूह उकालो लागेको छ भने एउटामात्रै समूहमा रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक ४.१६ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ३.१२ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२२ प्रतिशत, जलविद्युत समूहमा २.२९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७५ प्रतिशत, अन्य समूहमा ०.६४ प्रतिशत, लघुवित्त समूहमा २.७५ प्रतिशत, जीवन बीमा समूहमा २.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८८ प्रतिशत र लगानी समूहमा १.०७ प्रतिशतको बढोत्तरी भएको छ।

आज व्यापार समूहमा १.८४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता सेयर २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँमा किनबेच भएका छन्।

आज शिखर इन्स्योरेन्स (संस्थापक सेयर) को सर्वाधिक १३ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। मेरो माइक्रोफाइनान्सको ११ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको ७ करोड ३४ लाख रुपैयाँ, सिटिजन्स बैंकको ६ करोड ७२ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ६ करोड ५० लाख रुपैयाँ, नबिल बैंकको ६ करोड २२ लाख रुपैयाँ, सानिमा बैंकको ५ करोड ३८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ३५ लाख रुपैयाँ, अपी पावरको ५ करोड ३१ लाख रुपैयाँ र नेपाल बैंकको ५ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मल्टीपर्पस फिनान्स, समता घरेलु लघुवित्त र हिमालयन पावर पटर्नरको सेयरमूल्यमा १० प्रतिशत तथा मैलुङ खोला जलविद्युत, सिभिल लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन एनआईसी एसिया लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतले ओरालो लागेर नेगेटिभ सर्किट लागेको छ।