मुस्ताङबाट राजधानीका लागि बाहिएि भेडा–च्याङ्ग्रा

मुस्ताङबाट राजधानीका लागि बाहिएि भेडा–च्याङ्ग्रा

बेनी, स्वादिलो अनि तिख्खर स्वाद हुने च्याङग्राको मासु नरुचाउने मानिस सायद कमै होलान् । यस्तो स्वाद हुने च्याङग्राको मासु खाने सबैको रहर यस वर्षको दशैंमा पुरा नहुन सक्छ ।

मुस्ताङ जिल्लाबाट अन्य जिल्ला जाने च्याङ्ग्रा जिल्लाको आफ्नै उत्पादनले मात्रै पुग्दैन । प्रत्येक वर्ष भण्डै २० हजारको हाराहारीमा च्याङ्ग्रा छिमेकीमुलुक चीनहुँदै मुस्ताङको कोरला नाकाबाट नेपाल प्रवेश गर्ने गर्थे ।

पछिल्लो दुुई वर्ष कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर चीनसँगको सीमानाका कोरलाबाट भेडा च्याङ्ग्रा नभित्रिएकाले यस वर्षको दशैंमा उपभोक्तालाई च्याङ्ग्राको मासु सहजै प्राप्त हुँदैन ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका– ५ लोमन्थाङका युवा छेवाङ रिन्जिङ गुरुङकाअनुसार कोभिड–१९ सुरु हुनुभन्दा पहिला चीनबाट कोरला नाकाहुँदै १० देखि १५ हजारसम्म च्याङ्ग्रा भित्रिने गरेको भएपनि पछिल्लो दुुई वर्ष भने च्याङ्ग्रा भित्रिएका छैनन् ।

यस वर्ष उपल्लो मुस्ताङ हुँदै १० हजार हाराहारी मात्रै भेडा च्याङ्ग्रा उपल्लो मुस्ताङ क्षेत्रबाट बाहिर लागेको छ गुरुङले भने । उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिका एवम् डोल्पाहुँदै आएका करिब १० हजार भेडा च्याङ्ग्रा उपल्लो मुस्ताङ क्षेत्रबाट बाहिरिएको गुरुङले बताए ।

कोभिड–१९ का कारण देखाउँदै चीनले सीमानाका पुरै सिलगर्दा च्याङ्ग्रा मात्र होइन, प्रत्येक वर्ष भदौमा हुने दुई देशीय ब्यापारमेला पनि पछिल्ला दुई वर्ष यता भएको छैन ।

 विगतका वर्षहरुमा भदौमा लोमन्थाङमा ब्यापार मेला हुने गर्दथ्यो भने पछिल्ला दुई वर्ष यता कोभिड–१९ को कारण देखाउँदै चीनले सीमा बन्द गरेकाले मेला हुन नपाएको स्थानीयको भनाई छ ।

स्याउ जोन मुस्ताङका डाक्टर सुधिर थापाले आफूले भेटेरीनरी परीक्षण गरेर चार हजार तीनसय निरोगी भेडा च्याङ्ग्रा जोमसोम हुँदै म्याग्दी लैजान अनुमति दिएको बताए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीकाअनुसार सोमबार बिहानसम्म जोमसोमबाट पाँच हजार हाराहारी भेडा च्याङ्ग्रा म्याग्दीतर्फ लगिएका छन् । 

विभिन्न जिल्लाका ब्यापारीहरुले मुस्ताङमा क्वारेन्टाइन पास गराएर मार्फाहुँदै म्याग्दीतर्फ सडक मार्गहुँदै भेडा च्याङ्ग्रा लगेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

विगतका वर्षहरुमा मुस्ताङको आफ्नो उत्पादन ४० प्रतिशत र चीनबाट ६० प्रतिशत भित्र्याएर बिक्री गरिने भएपनि पछिल्ला दुुई वर्ष यता भने मुस्ताङ र डोल्पा क्षेत्रबाट ल्याएर विक्री गर्ने गरिएको स्थानियको भनाई छ ।