चितवन प्रहरीले सुजिता भण्डारी मृत्यु प्रकरण बारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजत पत्रकार सम्मेलनमा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले हालसम्म १ सय बढी व्यक्तिबाट सूचनाहरू संकलन गरेको जानकारी दिए ।
यस्तो छ सुजिता प्रकरणमा उपरीक्षक अधिकारीको भनाइ
घटना असार ११ गतेको हो । करिब १२:३० बजे प्रहरीलाई राप्ती ३ बाट सुजिता भण्डारीको अपहरण भएको सूचना आयो । अपहरणकारीले एउटा गाडीमा राखेर लगेको भनिएको थियो ।
सुजिताको दिदी कवितालाई सूचना आउनासाथै प्रहरी त्यतिखेरै एक्टिभेट भएको हो । प्रहरीले दुई किसिमबाट अनुसन्धान थाल्यो । एउटा म्यानुअल्ली- बाटो-बाटोमा चेक गर्ने । विशेषगरी होटल, रेष्टुरेन्ट चेक गर्ने, नाकामा चेक गर्ने, नजिकका जिल्लाहरूलाई हुलिया तुरुन्तै परिपत्र गरेर चेक गर्ने । अर्को टेक्निकल्ली । अनुसन्धानका क्रममा केही स्थानीय र पीडितलाई साथै लिएर गयौं ।
हामी खोज्ने क्रममै थियौँ । २० गते अचानक एक युवतीको लास राप्ती ३ को बह्रम्स्थानी सामुदायिक वनमा छ भन्ने खबर आयो । एकजना च्याउ खोज्न जाने मानिसले खबर गरेपछि हामी तुरुन्तै त्यहाँ पुग्यौं । परिवारका सदस्यलाई पनि बोलायौं । उहाँहरूले सनाखत गर्नुभयो ।
त्यो घटनालाई बडो गम्भीरताका साथ लिएकै थियौँ । साँझ परिसकेकाले घटनास्थललाई विभिन्न विधी प्रयोग गरेर सुरक्षित राखी प्रहरी इन्सपेक्टरको कमाण्डमा टोली खटाएर स्थानीयलाई पनि राखेर रातभरी बस्यौँ । बिहान सबेरै मेरै नेतृत्वमा विज्ञ सहितको टोली अनुसन्धानमा सीआइवी, उपलब्ध कुकुर र पोष्टमार्टम गर्ने डाक्टर लगेर घटनास्थल हेर्यौं ।
त्यहाँ खाजतलास गर्दा एउटा माउन्टेन ड्युको बोतलमा तरल सेतो पदार्थ लगायतका कुराहरू भेटिए । त्यसलाई हामीले प्रमाणका रुपमा संकलन गर्यौँ । हामीसँग अब अनुसन्धानका लागि बढी तथ्यहरू दिनसक्ने भनेको पोस्टमार्टम रिपोर्टले हो । हामीले तुरुन्तै डेड बडीलाई पोस्टमार्टम गराउन जुट्याै ।
तथ्य नजिक पुग्न सकियोस् भनेर नेपालमा उपलब्ध विज्ञ समूहबाट पोस्टमार्टम गर्ने कुरा भयो । त्यसका लागि शवलाई काठमाडौं लैजाने प्रयास गर्यौँ । तर दुस्खको साथ भन्नुपर्छ- शव लिएर परिवारका सदस्यको साथ हामी गइरहँदा एकथरी समूहले अवरोध पुर्यायो । त्यतिखेर हामीसँग दुई विकल्प थिए । बल प्रयोग गरेर अघि बढ्ने र उहाँहरूको भनाइ के रहेछ सुन्ने थियो । संवेदनशील घटना भएकाले हामीले बल प्रयोगको विकल्प रोजेनौँ ।
उहाँहरूसँग हामी कुरा गर्न खोज्यौँ । तर अनियन्त्रित जमात जस्तो भएको हुनाले समस्या पर्यो । बेलुका शवलाई यहाँ ल्यायौँ । परिवारका सदस्यलाई छुट्टै एम्बुलेन्स खोज्यौँ । शवलाई पनि शवबहान खोजेर तुरुन्तै काठमाडौं पठायौँ । काठमाडौंमा विज्ञको समूहले पोष्टमार्टम गरिसकेका छ ।
पोस्टमार्टमको प्रोसेस के हुन्छ भने डाक्टरले आवश्यकताअनुसार त्यो भिसेरा झिकेर ल्यावमा पठाएर रिपोर्ट आएपछि निस्कर्ष निकाल्नुहुन्छ । अहिलेको पोष्टमार्टम सम्पन्न भैसकेको, भिसेरा झिकेर ल्यावमा पठाएको अवस्था छ । त्यो भिसेरा सामान्यतया प्रहरीको सुविधासम्पन्न ल्यावमा पठाउँछौँ । तर, यो केसमा हामीले खुमलटार पठाएका छौँ । सम्भवत केही दिनभित्र पोस्टमार्टम रिपोर्ट प्राप्त गर्न सक्छौँ । अहिलेसम्मको अनुसन्धान प्रगति यही हो ।
मृतकको दिदीले बेलुका आफूसँगै एउटै बेडमा सुतिरहेको बहिनी बिहान उठेर आफुखुशी हिँडेको बताउनुभएको छ । घरबाट कसैले जवरजस्ती गरेको छैन । दिदी कविताले मोबाइल चार्जमा राखेर बस्नुभएको थियो । त्योबेला अलि पछाडी बहिनीको मिस्कल आएको देखियो । उहाँहरूको भनाइलाई आधार मान्ने हो भने ६-७ रिंग लगातार आउँदा कसैले रेस्पोन्स गरेन । उहाँले के भन्नुहुन्छ भने म आएर मिस्डकलहरू देखेपछि बहिनीलाई कल गरेँ । कल गर्दा बहिनीले ‘म अपहरणमा परेँ, आँखामा पट्टी बाँधेको छ, स्प्रेहरू पनि छर्केको छ’ भन्नुभयो ।
त्यसपछि फेरि दोहोरो कल भएको छ । यताबाट कल गर्दा पनि रिसिभ भएको छ । उताबाट पनि कल भएको अवस्था देखिन्छ । बीचमा त्यही नम्बरबाट निजले डाटा प्याक पनि लिएको देखिन्छ । त्यसो भएकाले सुरुमा अनुसन्धानमा अलिकतै जटिलता थपिएको कै हो ।
एउटा अपहरणमा परेको मान्छेले सहजरूपमा फोन उठाउन सक्ने र सहज रुपमा रिप्लाई गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन भनेर हामी सुरुमा अल्मलियौं । प्रमाणित नभएसम्म हामी पिडितले दिएको सूचनालाई नै आधार मान्छौँ । पीडितको सूचना नै हाम्रो प्रारम्भिक सूचना हो । तर, अर्को एंगलबाट पनि हामीले अनुसन्धान गरिरहेकै अवस्था थियो । बीचमा हामीले धेरै समूह बनाएका छौँ ।
डे वानबाटै सौराहादेखि कुमजारेजतिर बेस्सरी खोजिरहेका थियौँ । धेरै प्रहरी परिचालित गराएर धेरै सूचना हामीले संकलन गरिसकेको अवस्था छ । यो बीचमा हामीले १ सयजना मानिससँग सम्पर्क गरेर केही चिजहरू पाएको अवस्था छ । अहिले अनुसन्धानकै चरणमा भएकाले डिटेलमा गएर भन्न सक्ने अवस्था भएन । अनुसन्धानको गोपनीयता राख्नुपर्ने भएकाले सूचनाहरू हामीले डेलिभर गर्न सनक्ने हाम्रो बाध्यता हो । हामी ९० प्रतिशत फिल्डमै छौँ ।