कालापानी र लिपुलेकबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

कालापानी र लिपुलेकबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं : नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए। छलफलमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीलगायत सहभागी हुनेछन् ।

छलफलमा सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि बोलाइएको छ । भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन्। भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ।

नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझावसहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७८ ठाउँमा विवाद छ । कालापानी, सुस्ता, टनकपुर, पशुपतिनग लगायत क्षेत्रमा सीमा विवाद बढी देखिएको छ ।