गुटबन्दीको सिकार नेविसंघ : आमरण अनसन बस्ने काफ्ले समूहको चेतावनी

गुटबन्दीको सिकार नेविसंघ : आमरण अनसन बस्ने काफ्ले समूहको चेतावनी

काठमाडौं: काँग्रेस भित्रको घर झगडा अहिले छताछुल्ल भएको छ । सभापति शेरबहादुर देउवाको शक्ति मोहका कारण काँग्रेसमा फाटो आएको बताइन्छ । पार्टीभित्रको गुटबन्दी र शक्ति संचितिकरणको दाउमा काँग्रेसको नर्सरीका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ परेको छ । आफूलाई लोकतान्त्रिक पार्टीको दाबी गर्ने काङ्ग्रेसमै लोकतन्त्रको खडेरी परेको छ । काँग्रेसका भातृसंगठनहरु सुस्ताउन लागेका छन् ।

चुनावको पराजयसँगै काङ्ग्रेसभित्रको आन्तरिक कलहले काँग्रेस सक्किने निश्चितजस्तै बनेको छ । आफैले बनाएको विधान उल्लङ्घन गर्न सभापति नै सक्रिय देखिन्छन् । काँग्रेस नेतृत्वलाई सचेत गराउन नेविसंघको एक समूह नेपाली काँग्रेसको मुख्यालय वीपीनगर सानेपामा अनसन बसिरहेको छ । पूर्व महामन्त्री कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरूले विधान अनुसार महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै सुरु गरेको रिले अनसन आज १३ औ दिन पनि जारी छ । नेविसंघमा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न दबाब दिन विद्यार्थीहरू ढोकामै रिले अनसन बसेका छन्। तर आज १३ दिन हुँदा पनि नेतृत्वको आँखा नपरेको विद्यार्थीहरूको भनाइ छ । शीर्ष नेतृत्वले आँखा चिम्लिए जसरी भित्र बाहिर गरिरहेको नेविसंघका पूर्व महामन्त्री काफ्लेले बताए ।

नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशन गर्न नसकेर विघटन भएपछि बसेका प्रत्येक केन्द्रीय समिति बैठकमा पुग्दा काँग्रेस सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण गराउँदै आएका छन् । तर उपलब्धि भने शून्य देखीएको छ । सभापतिले आफू निकटकालाई नेविसंको बागडोर दिन चाहेकाले उनी विधान मान्न तयार देखीदैनन् । भने उनले प्रस्ताव गरेका ५० वर्ष नाघेका नेतालाई मान्न अरू तयार छैनन् ।संस्थापन इतर पक्षका नेताहरूले भने देउवाको चङ्गुलबाट नेविसंघलाई फुत्काउन जोडबल गरिरहेका छन् ।

नेविसंघको विधान २०२७ को सातौँ संशोधन २०७५ को धारा ५ को बुँदा ५ बमोजिम ३२ वर्ष उमेरमूनिकाले मात्रै सदस्यता पाउने व्यवस्था छ । तर सभापति देउवाले आफ्नो खेमाबाट ५० वर्ष काटेकालाई नेतृत्व दिन खोजेपछि कुन्दनराज काफ्ले समूहका विद्यार्थीहरू अनसनमा जुटेका हुन् । आज १३औ दिनको पहिलो चरणको अनसनमा नेविसंघ नेत्री लक्ष्मी ढकाल (गोरखा) को नेतृत्वमा विद्यार्थी नेत्रीहरु प्रमिला काप्री(गोरखा),सोफिया कार्की (मोरङ) आरती रिजाल (सिन्धुपाल्चोक) ललिता न्यौपाने (काभ्रे) अनसनमा छन् । सभापति देउवाको विरासतमध्ये एक नेविसंघ नै हो। उनी २०२७ सालमा नेविसंघ सभापति भएका थिए। तर देउवा नै पार्टी सभापति भएका बेला नेविसंघ गत माघदेखि नेतृत्वविहीन छ । सभापति देउवाको सहमति भन्दापनि पेलेरै जाने प्रवृत्तिले काँग्रेस कमजोर बन्दै गएको नेताहरू बताउँछन् ।

दूइतिहाइको सरकारसँग लड्नुपर्ने बेलामा काङ्ग्रेसभित्र अंशबन्डाको झगडा चर्केको छ । यसको फाइदा सत्तारुढ दललाई पुगेको छ ।अनसनरत विद्यार्थीहरूले भने नेविसंघलाई स्वतन्त्र र विधानतः सञ्चालन गर्न माग गरिरहेका छन् । तर उनीहरूको सुनुवाइ हुने छाँट नदेखिएपछि नेतृत्वलाई दबाब दिन आमरण अनसनमा बस्ने तयारी गरेको नेता काफ्लेले बताए । उनी भन्छन् ‘विधान नै नमान्ने भए किन बनाउनु , एक व्यक्तिको स्वार्थपुर्तिकालागि सङ्गठन नै धरापमा पर्ने रु हाम्रो के माग छ र बस विधानमा भएको कुरा हुबहु लागू हुनु पर्‍र्यो त्यति हो । यति गर्दा पनि हामीलाई कमजोर ठाने अब हामी आमरण अनसनमा बस्छौँ । ’नेबिसंघको विधान २०२७ को सातौँ संशोधन कार्यान्वयन भई ३२ वर्ष उमेर हद लागी २० जिल्ला अधिवेशन सम्पन्न भइसकेको, ४० जिल्लामा तल्लो तहको अधिवेशन भएको र १६ जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा केन्द्रीय समिति पनि ३२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई राखेर बनाउनु पर्ने माग उनीहरूको छ ।