डा.केसीको अनशनप्रति सरकारको वेवास्ता , चिकित्सक भन्छन् स्वाथ्य बिग्रदै छ

डा.केसीको अनशनप्रति सरकारको वेवास्ता , चिकित्सक भन्छन् स्वाथ्य बिग्रदै छ

डडेल्धुरा : १७औँ अनशन थालेका डा. गोविन्द केसीसँग सरकारले वेवास्ता गरेको छ । अनशन सुरुभएको पाँचौ दिन पुग्दासमेत सरकारबाट वार्ताकालागि कुनै पहन नभएको बताइएको छ । यता अनशनमा बसेका डा केसीको स्वाथ्य भने बिग्रिँदै गएको छ । डा केसीको स्वास्थ्य अस्थिर देखिएको उपचारमा संलग्न चिकित्सक डा जितेन्द्र कँडेलले बताए । रक्तचाप तलमाथि भइरहेको र बुधबारदेखि पिसाबमा बढेको एसिटोनको मात्रा नियन्त्रणमा नआएको उनले बताए । चिसोका कारण स्वास्थ्य समस्या बढेको उनले बताए ।

डडेल्धुरा सदरमुकामको एक घरमा अनशन बसिरहेका केसीलाई जिल्ला अस्पताल सार्नुपर्ने सुझाब चिकित्सकहरूको छ । १६औँ अनशनमा आफूले राखेको मागविपरीत सरकारले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास गरेपछि असहमति जनाउँदै केसी गत वर्ष २५ पुसदेखि १६औँ अनशनमा बसेका थिए ।

तर, २४ दिनपछि उनले बीचमै अनशन तोडेका थिए । सरकार अहिले पनि सम्बन्धित आयोगहरूमा पार्टी कार्यकर्ता भर्ती गरेर संक्रमणकालीन न्यायलाई तमासा बनाउन उद्यत् रहेको भन्दै त्यसलाई पूरा गर्न आफूले पुनः अनशन थालेको केसीको भनाइ छ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपति र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको विषयप्रति केसीले आपत्ति जनाएका छन् ।

उनले विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा दलीय भागबन्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्ने र त्यसका लागि वस्तुगत मापदण्ड बन्नुपर्ने बताए ।