दादुरा रुवेला विशेष खोप अभियान : २०२३ सम्ममा निर्मूल पार्ने लक्ष्य

दादुरा रुवेला विशेष खोप अभियान : २०२३ सम्ममा निर्मूल पार्ने लक्ष्य

काठमाडौँ : सरकारले दादुरा रुवेला रोग विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । सन् २०२३ सम्ममा दादुरा र रुवेला नियन्त्रण गर्ने सरकारको लक्ष्यअनुसार दादुरा रुवेला विशेष खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । आज काठमाडौमा पत्रकारहरूसँगको अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले खोप अभियान सुरु गर्नु अघि नै छ हजार स्वास्थ्यकर्मीलाई एकैपटक तालिम दिने योजना भएको बताए । दुई चरणमा गरी दिइने सो खोप फागुन महिनाभरी प्रदेश नम्बर १, २ र ५ मा अभियानको रूपमा सञ्चालन गरिनेछ भने बाँकी प्रदेश ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चैत्र महिनाभर सञ्चालन हुने छ ।

यस खोपलाई अनिवार्य गरिएको श्रेष्ठले बताए । नियमित खोप लिइरहेका बालबालिकाले पनि यो अभियानमा खोप लगाउनुपर्ने छ । जन्मेको ९ महिना देखि ५ वर्ष उमेर समूहका करिब ३० लाख बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा। झलक गौतमले जानकारी दिए । साथै अभियानलाई सफल बनाउन खोप केन्द्र विस्तार गर्न लागिएको समेत डा। गौतमले बताए ।

हाल देशभर रहेका १६ हजार खोप केन्द्रलाई विस्तार गरी ४५ हजार भन्दा बढी पु¥याइने उनले जानकारी दिए । खोप अभियानमा १ लाख बढी स्वयंसेवक र १० हजार बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अन्तरक्रियामा डा। गौतमले लक्षमा पूग्नकालागि स्वाथ्यकर्मीको पहलले मात्र नपुग्ने बताउँदै आम सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने बताए । साथै उनले मिडियाले सकारात्मक प्रभावलाई समाचारको विषय बनाउनुपर्नेमा जोड दिए ।

उनले खोप अभियानका क्रममा देखिएका अवाञ्छित घटनाको तथ्य बुझेर मात्र सम्प्रेषण गर्न आग्रह गरे । एक अध्ययनका अनुसार एक बालबालिकामा दादुरा देखिए त्यसबाट त्यस आसपासका १६ जना सम्ममा सर्न सक्छ । नेपालमा यस वर्ष १ सय २२ जनामा रुबेला भएको प्रमाणित भएको छ । सरकारले नियमित खोप अभियानका लागि वार्षिक रूपमा १ अर्व ६५ करोड रुपैयाँको खोप खरिद गर्ने गरेको छ ।