न्यायाधीशका सुरक्षागार्डकै पेस्तोलसहित प्रेमी फरार

न्यायाधीशका सुरक्षागार्डकै पेस्तोलसहित प्रेमी फरार

जनकपुरधाम : जनकपुरस्थित उच्च अदालतका एक न्यायाधीशकी सुरक्षा गार्डकै पेस्तोल लिएर प्रेमी भागेका छन्। न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिताकुमारी केवटको पेस्तोल लिएर प्रेमी भागेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दरबन्दी भएकी प्रहरी जवान केवटको प्रेमी सिबेन्द्र यादवले पेस्तोल लिएर भागेको प्रहरी स्रोतले जनाएको छ।

सुरक्षा गार्ड केवट जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा लिएर बस्दै आएकी थिइन् । पेस्तोल लिएर भागेका यादब नवलपरासी देउडा(६ का बासिन्दा हुन्। यादवले लिएर भागेको पेस्तोलमा ७ राउण्ड गोली लोड थियो । प्रहरी जवान केवटसँगै उनी केहि दिनदेखि डेरामा बस्दै आएका थिए। उनी कहिले भागेको विषयमा प्रहरीले बताउन चाहेका छैन ।

घटनापछि सुरक्षागार्ड केवटलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको एक प्रहरी अधिकारीले बताए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले उक्त घटना लुकाउने प्रयास गरेका छन्। डिएसपी कार्कीले प्रहरी जवान केवटसँग झगडा मात्र परेको दावी गरे। उनले घटना विषयमा अनुसन्धान भइरहेको समेत बताए ।