खोटाङ : खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका ७ को खोटाङ बजारमा रहेको माणिकलाल प्रधानको घरमा विद्युत् सर्ट भइ आगलागी भएको छ ।
मोबाइल र स्टेसनरी पसल सञ्चालन हुँदै आएको प्रधानको घरमा सोमबार राति आगलागी हुँदा लाखौँको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताएका छन् । आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका ६ ईन्द्रेणी पोखरीका रमेश राईको मोबाइल पसल र खोटाङ बजारकै घनश्याम फुयाँलको स्टेसनरी पसल पूर्णरुपमा जलेको छ ।
मोबाइल पसलबाट सुरु भएको आगलागीमा घरका मालिक प्रधानको झण्डै ३० लाख, मोबाइल पसल सञ्चालक राईको १८ लाख र स्टेसनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) आमोदकुमार खेरवारले जानकारी दिए । प्रधान परिवार भने काठ्माण्डौमा बस्दै आएका छन् । प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएका थिए ।