बैंकको ऋणको दवाबले बढ्यो कारोबार

बैंकको ऋणको दवाबले बढ्यो कारोबार

काठमाडाैं । घरजग्गामा लगानी गरेका व्यावसायीहरुले असोज मसान्तसम्म ऋणको साँवाब्याज तिर्नुपर्ने हुन्छ। कोभिड-१९ लाई कारण देखाउँदै कर्जा भुक्तानी गर्ने समय सारिरहेका व्यावसायीहरुलाई यतिबेला बैंक तथा वित्तीय संस्थाले जसरी पनि कर्जा भुक्तानीका लागि दवाब दिन थालेका छन्।

त्यसकारण व्यावसायीहरुले बजार मूल्य भन्दा सस्तो दरमै घरजग्गा बिक्री गरिरहेकाले पनि यतिबेला कारोबार बढ्ने एक घरजग्गा व्यवसायीले बताए। 'जग्गा नबेचेसम्म ऋण तिर्न नसक्ने र ऋण नतिरे बैंकले धितो लिलाम गर्ने चेतावनी दिएपछि व्यवसायीहरुले अलि सस्तो मूल्यमै भए पनि घरजग्गा बेच्न थालेका छन्,' उनले भने, 'त्यसैले कारोबार भएको देखिएको हो।'  

मध्यमवर्गीय अधिकांश मानिसको आयस्रोत सुक्दा घरजग्गा किन्न नसक्ने अवस्थामा पुगेका छन्। लामो समय व्यापार व्यवसाय ठप्प रहँदा कारोबारीहरूका हात खाली छन्। यस्तो बेला लागेको ऋण निखन्न धेरैले घरजग्गा बेच्ने विकल्प देखेका छन्। पैसा हुनेहरु भने यतिबेला लगानी गर्दा पछि भाउ बढेको अवस्थामा राम्रो दाम हात पर्ने आकलन गर्दै चर्को बार्गेनिङ गरेर घरजग्गामा लगानी बढाइरहेका छन्।

आफ्नो लगानी केही समय 'होल्ड' रहँदा पनि केही पछि राम्रो नाफा हात पर्ने हिसाब लगाइरहेकाहरूले सस्तोमा घरजग्गा खोज्दै खरिद गरिरहेका छन्। 

घरजग्गा कारोबार बन्द हुँदा केही लगानीकर्ताहरुले सेयर बजारमा लगानी गरेर नाफा बुक गरेका छन्। लकडाउनसँगै सेयर बजारमा थपिएका नयाँ लगानीकर्ता देखिनुको कारण यही थियो। घरजग्गामा लगानी गर्ने अवसर पाउनेबित्तिकै बाँकी रहेका लगानीकर्ताहरु पनि सेयर बजारबाट बाहिरिने र घरजग्गा लगानीमा केन्द्रित हुन सक्ने घरघडेरीका कारोबारीहरूको अनुमान छ।