निकै रोचक छ रुसको इतिहास । रुसमा सन् १९१७ मा अक्टोवर क्रान्ति शुरु हुनुभन्दा पहिले पनि कैयौं क्रान्तिकारी घटनाहरु भएका थिए । स्तेपान राजीन र पुगाच्योभको किसान विद्रोहको बयान अत्यन्तै रोमहर्षक छ । पुश्किनले समेत आफ्नो उपन्यास 'कप्तानकी छोरी' मा किसान नेता पुगाच्योभको शब्दचित्र उतारेका छन् भने पुगाच्योभ विद्रोहको इतिहास शीर्षकमा एक पुस्तक पनि लेखेका छन् । त्यसपछिका आन्दोलनहरु पनि कम महत्वपूर्ण छैनन् । जारशाहीविरुद्ध पहिलो संगठित विद्रोह जारकै दरबारसित सम्बन्धित तर रुसमा जनतालाई बढी स्वतन्त्रता प्रदान गरिनु आवश्यक ठान्ने अभिजात वर्गकै प्रतिनिधिहरुद्धारा भएको थियो । त्यसलाई ‘डिसेम्बर विद्रोह’ भनिन्छ ।
सन् १८२५ को डिसम्बर महिनामा जारशाही निरंकुशताका विरुद्ध कुलीनवर्गकै एक समूहद्वारा विद्रोह गरिएको थियो जसले रुसको इतिहासमा देकाब्रिष्ट (डिसम्बरवादी) आन्दोलन भन्ने नाम पाएको छ । आन्दोलनकारीहरु गुप्त संगठनहरुसित सम्बन्धित थिए जसका संस्थापकहरु सन् १८१२ मा नेपोलियनविरुद्ध देशभक्तिपूर्ण युद्धका सहभागी युवा अफिसरहरु थिए । भू-दासप्रथाको उन्मूलन र निरंकुश प्रशासनविरुद्ध डिसम्बरवादीहरुले आवाज उठाएका थिए । तत्कालीन प्रगतिशील बुद्धिजीवीहरुको पनि यस आन्दोलनलाई समर्थन रहेको थियो । रुसी महाकवि अलेक्सान्द्र पुश्किन पनि यस आन्दोलनप्रति सहानुभूति राख्दथे । आन्दोलनकारीहरुमध्ये कैयौंसित उनको व्यक्तिगत मित्रता समेत थियो ।
सन् १८२५ को नोभेम्बर महिनामा जार अलेक्सान्द्र प्रथमको असामायिक मृत्यु भयो । उनका भाइ निकोलाई उत्तरधिकारी थिए । तर दाजु कन्स्तान्तिनले पहिलेबाटै राजपाट त्यागिसकेका छन् भन्ने कुरा दरबारले गोप्य नै राखेको थियो । सेनाले चाहिं जारको देहान्त हुनासाथै उनीप्रति बफादारीको शपथ ग्रहण गर्यो । पछि निकोलाईप्रति बफादारीको शपथ ग्रहण गराइने हल्ला चल्यो, जसलाई सेनामा कसैले पनि मन पराउंदैनथ्यो । १४ डिसेम्बरका दिन नयां शपथग्रहण गरिने घोषणा भएपछि विहानै ११ बजेतिर सेनापति बेस्तुझेभको नेतृत्वमा पहिलो विद्रोही पल्टन पिटर्सवर्गको सेनेट चोकमा उपस्थित भयो । पछि त्यहां अन्य विद्रोही पल्टनहरु पनि आए । त्यस दिन त्यहाँ ३० जना अफिसरहरुको मातहतमा करिब ३ हजार विद्रोही सैनिकहरु उपस्थित भएका थिए । निकोलाई प्रथमले चाहिं विहान नहुँदै सेनेट र राजकीय परिषद्समक्ष सपथग्रहण गर्न भ्याइसकेका रहेछन् र उनको समर्थक सेनाले साँझसम्ममा सेनेट चोकलाई घेरिसकेको थियो । त्यसै राति विद्रोह दमन गरियो । कम्तीमा पनि ८० जना विद्रोहीहरु मारिए । ५७९ जना उपर राजद्रोहको मुद्दा चलाइयो । यो जारको विरुद्ध कुलीन वर्गले गरेको सबभन्दा पहिलो विद्रोह थियो ।
सन् १८२६ को १३ जुलाईका दिन विद्राहको नेतृत्व गर्ने पेस्तेल, मुराभेयोभ, बेस्तुझेभ, रिलेयेभ र काखोभ्स्की यी ५ जनालाई फांसी दिइयो । १२१ जनालाई साइबेरियामा निर्वासित गरियो । सिपाहीहरुलाई कोर्रा ठोक्नुका साथै ककेशियामा लडाइँ गर्न पठाइयो । साइबेरियातर्फ निर्वासित गरिएका डिसेम्बरवादीहरुलाई तिनका पत्नीहरुले स्वेच्छापूर्वक साथ दिएको घटना पनि कम रोमाञ्चकारी छैन । आफ्ना निर्वासित पतिहरुको अनुसरण गर्दै साइबेरिया जाने महिलाहरुले कुलीन वर्गले पाउने विशेषाधिकार गुमाउनुका साथै सम्पत्तिको हक पनि गुमाउनु परेको थियो । र, आफ्नो बालबच्चाहरुलाई समेत छोडेर जानु परेको थियो । डिसेम्बर विद्रोहमा भाग लिनेहरुप्रति रुसी कवि अलेक्सान्द्र पुश्किनको पनि समर्थन र सहानुभुति थियो, जो आफैं पनि कुलीन घरानाका थिए । पुश्किनले आफ्ना पतिहरुको साथमा साइबेरियातर्फ जाने एक महिलामार्फत डिसेम्बरवादीहरुको बारेमा सहानुभूति व्यक्त गर्दै लेखेको आफ्नो एक कविता पठाएका थिए । रुसी कवि नेक्रोसोभले पनि रुसी नारीहरु भन्ने काव्यमा यिनै वीरांगनाहरुको वीरोचित भावनाको बखान गरेका छन् ।
(फोटो: डिसेम्बर बिद्रोह र त्यस बिद्रोहमा मृत्यदण्ड पाएका कुलीन बर्गका पॉच सैनिक अधिकृतहरु)