निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

काठमाण्डौ : नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ ।

निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो । दुई सातापछि नेपाल भ्रमण वर्ष शुरु हुँदैछ । दशरथ रङ्गशालामा आगामी जनवरी १ (पुस १६ गते) ४० भन्दा बढी देशका पर्यटनमन्त्री र विशिष्ट पाहुनाको उपस्थितिमा भ्रमण वर्षको भव्य शुभारम्मको तयारी भइरहेको छ ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक काम भइरहेको छ । भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास लिइएको छ । जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको हो ।

उडान थपिएपछि पर्यटक सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनाका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने कम्पनीले अपेक्षा गरेको छ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । नारितामा साताको तीन दिन उडान गर्ने निगमको तयारी छ । त्यस्तै लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान पुसको दोस्रो साता निश्चित भएकोे थियो ।

सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले उल्लेख गरेको छ । उक्त प्रयोजनका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको छ । यो गन्तव्यमा पनि निगमले सातामा तीन दिन उडान भर्नेछ । चिनियाँ सिभिल एभिएशनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ ।

चीनको राजधानी बेइजिङ, साङ्घाईलगायत गन्तव्यमा उडान विस्तारका लागि पहल भइरहेको बताइएको छ । निगमका दुई अन्तररष्ट्रिय गन्तव्यमा उडान थपिएपछि ए३२० न्यारो बडी र ए३३० वाइड बडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने छन् । यसपछि निगमको अन्तरराष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाङ्जाओे, भारतको नयाँ दिल्ली, बङ्लोर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तरराष्ट्रियस्तरमा १० गन्तव्य हुनेछन् ।