चितवन : चितवनमा लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेपछि आइतबारबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए । उनका अनुसार एउटा चल्ला उत्पादनमा करिब ५५ रुपैयाँ लागत पर्ने तर हाल चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा पनि कम रहेको छ । लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
ह्याचरी उद्योगीहरुले १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् । १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघका अध्यक्ष पोखरेलले बताए ।
नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर कुखुरा चल्ला आवश्यक भए पनि हालको उत्पादन ४५ लाख छ । ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरेपछि सबैको सल्लाहमा बन्द गरिएको जानकारी दिइएको छ ।
नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । चितवनमा मात्रै १२० भन्दा बढी ह्याचरी छन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी छ । ब्यवसायीहरु बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको पोल्ट्री विज्ञ डा। भट्टराइले बताए । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा छ । चल्ला उत्पादन गर्ने ह्याचरीहरुको मात्र नभइ अण्डा र मासु उत्पादकहरुको अवस्था पनि दयनीय बन्दै गएको व्यवसायीहरु बताउदै आएका छन् ।