चितवन मेडिकलद्धारा साता भित्र समायोजित शुल्कका बारेमा जानकारी लिन आग्रह

चितवन मेडिकलद्धारा साता भित्र समायोजित शुल्कका बारेमा जानकारी लिन आग्रह

चितवन : चितवन मेडिकल कलेज (सीएमसी) ले शुल्क समायोजनको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई एक साता भित्र समायोजित शुल्कका बारेमा जानकारी लिन आग्रह गरेको छ । कलेजले ५ दिनभित्र समायोजित शुल्कको जानकारी लिन कैलाशनगरस्थित लेखा शाखामा सम्पर्क गर्न आग्रह गरेको हो ।

गत मंसिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुई बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयनका लागि कलेजले अगाडि बढाएको प्रकृयालाई सहज बनाई समायोजनमा साथ दिन विज्ञप्ती मार्फत कलेजले अभिभावक र विद्यार्थीहरुलाई अपिल गरेको छ ।

कलेजले सरकारसँग भएको सहमतिभन्दा अगाडि बढेर अन्य स्नातक कार्यक्रमहरु नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बीएमएलटी, बीएमआईटीमा पनि तोकेकोभन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । विद्यार्थीहरुले एमबीबीएस र बीडीएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने माग गर्दै आएका छन् ।

विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गर्ने कलेज प्रशासनले बताएको छ । कलेजमा तालाबन्दी गर्ने, परीक्षा बहिष्कार गर्ने, धम्काउने जस्ता क्रियाकलाप विद्यार्थीबाट हुँदा शुल्क समायोजनको प्रकृया अघि बढाउन असहज भएको सीएमसी कलेजद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।

कलेजले शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अनुरोध गरेको छ। पछिल्ला चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजनको माग राख्दै विद्यार्थीले परीक्षा नदिने अडान राख्दै आएका थिए । एमबीबीएस पहिलो वर्षको परीक्षा उनीहरुले बहिष्कार गरे । दोस्रो वर्षको परीक्षा नजिक आइरहेको छ । दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले शुक्रबार मात्रै विज्ञप्ति निकालेर चार वर्षको सबै संकायको शुल्क फिर्ता वा समायोजन नभए परीक्षा नदिने चेतावनी समेत दिएका थिए ।